नेपालगञ्ज । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजना तथा एकीकृत जाँच चौकी (आईसीपी) नेपालगञ्ज, भन्सार एजेन्ट संघ नेपालगञ्ज इकाइ र टीआईएस एटलस लोजीपार्क प्रा.लि.को सहकार्यमा नेपालगञ्जस्थित एकीकृत जाँच चौकी परिसरमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
एकीकृत जाँच चौकी नेपालगञ्जका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एकीकृत जाँच चौकीका सुरक्षा प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक तिर्थराज न्यौपाने, टीआईएस एटलस लोजीपार्क प्रा.लि.का टर्मिनल व्यवस्थापक तर्कराज जोशी, वरिष्ठ पत्रकार झलक गैरे, नेपाल भ्यालुअर्स एसोसिएसनका उपाध्यक्ष इन्जिनियर विवेक लामिछाने, हरित अभियन्ता हेमन्तराज काफ्ले, नेपालगञ्ज भन्सार एजेन्ट संघका अध्यक्ष दिनेश बानियाँ, नेपालगञ्ज च्याप्टरका अध्यक्ष टी. एस. ठाकुरी, रोटरी क्लब अफ सेन्ट्रल बाँकेका परियोजना संयोजक रो. सरोज रेग्मी, सचिव रो. उदय पौडेल, पब्लिक इमेज चेयर रो. विधान न्यौपाने, रो. चक्र गिरी लगायत क्लबका अन्य पदाधिकारी, भन्सार कार्यालयका कर्मचारी, भन्सार एजेन्ट संघका पदाधिकारी तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा करिब ४० जनाको सहभागितामा विभिन्न प्रजातिका ५०० बिरुवा रोपिएको रोटरी क्लब अफ सेन्ट्रल बाँकेका सदस्य तथा परियोजना संयोजक रो. सरोज रेग्मीले जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जनार्दन पौडेलले वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण अपरिहार्य रहेको उल्लेख गर्दै बिरुवा रोप्नु मात्र नभई त्यसको संरक्षणमा पनि सबै पक्षले समान रूपमा ध्यान दिनुपर्ने बताए। हरियाली विस्तारले वातावरण संरक्षणसँगै भावी पुस्ताका लागि स्वच्छ र सुरक्षित वातावरण निर्माणमा योगदान पुग्ने उनको भनाइ थियो।
रोटरी क्लब अफ सेन्ट्रल बाँकेका रोटरी वर्ष २०२६–२७ का अध्यक्ष रो. ईश्वरी जंग मल्लले रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत २६ जुलाईदेखि २ अगस्टसम्म सञ्चालन भइरहेको ‘वृक्षारोपण सप्ताह–२०२६’ अभियानअन्तर्गत देशभर १ लाख बिरुवा रोप्ने लक्ष्य राखिएको जानकारी दिए। उनले वातावरण संरक्षणलाई रोटरीले प्राथमिकतामा राख्दै देशव्यापी हरित अभियान सञ्चालन गरिरहेको बताए।
आयोजकका अनुसार वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वप्रति नागरिकको सहभागिता अभिवृद्धि गर्ने उद्देश्य बोकेको छ। साथै रोपिएका बिरुवाको नियमित संरक्षण र व्यवस्थापनलाई पनि अभियानकै महत्वपूर्ण पाटोका रूपमा अघि बढाइने जनाइएको छ।








