कोहलपुर । कवि केशव निमेषको नवीन कवितासंग्रह ‘मृत्युगञ्जको मौनता’ को गृह विमोचन कार्यक्रम आगामी साउन १६ गते (शनिबार) कोहलपुरमा आयोजना हुने भएको छ। यसअघि काठमाडौँमा सार्वजनिक भइसकेको उक्त कृतिलाई गृहजिल्लाका साहित्यप्रेमीमाझ विशेष कार्यक्रममार्फत विमोचन गर्न लागिएको हो।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर बाँकेको आयोजनामा हुने कार्यक्रम दिउँसो १२ बजे कोहलपुर पार्टी प्यालेसमा सञ्चालन हुनेछ। कार्यक्रममा साहित्यकार, लेखक, पाठक, सामाजिक अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।
कवितासंग्रह ‘मृत्युगञ्जको मौनता’ ले समकालीन समाजका अन्तर्विरोध, मानवीय संवेदना, प्रतिरोध र समयको बेचैनीलाई कवितामार्फत सशक्त रूपमा अभिव्यक्त गरेको बताइएको छ। यसअघि काठमाडौँमा सम्पन्न विमोचन कार्यक्रममा साहित्यिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूले कृतिले समकालीन नेपाली समाजको यथार्थलाई प्रभावकारी ढंगले उजागर गरेको धारणा व्यक्त गरेका थिए।
आयोजकका अनुसार गृह विमोचन कार्यक्रमलाई साहित्यिक संवाद, सिर्जनामाथिको अन्तरक्रिया तथा समकालीन नेपाली कविताबारे छलफल गर्ने अवसरका रूपमा लिइएको छ। कार्यक्रममा कवि निमेषको सिर्जना यात्रा, कृतिको विषयवस्तु र समकालीन नेपाली कविताको प्रवृत्तिबारे समेत विशेष अन्तरक्रिया हुने जनाइएको छ।
साहित्यप्रेमी, पाठक तथा सरोकारवाला सबैलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन आयोजकले आग्रह गरेको छ।







