कालिकोट ।
कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं. ३ स्थित वडा कार्यालयको आसपासमै खुला रूपमा मदिरा बिक्री-वितरण भइरहेको पाइएको छ। सरकारी तथा सार्वजनिक निकायको नजिकै निर्वाध रूपमा मदिरा बेचबिखन हुँदा कार्यालयको कार्य वातावरण बिग्रनुका साथै सर्वसाधारणलाई सास्ती भएको स्थानीयवासीको गुनासो छ।
स्थानीयहरूका अनुसार वडा कार्यालय जस्तो संवेदनशील र सेवाग्राहीको आवतजावत हुने स्थान नजिकै मदिरा पसलहरू सञ्चालन हुँदा दैनिक कामकाजमा असर परेको छ। मदिरा सेवनकर्ताहरूको होहल्ला र अनुशासनहीन गतिविधिले गर्दा विशेष गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई वडा कार्यालयसम्म पुगेर सेवा लिन कठिनाइ भइरहेको छ।
“कार्यालयको वातावरण मर्यादित र शान्त हुनुपर्नेमा वरपर नै मदिरा पाइने भएपछि शान्ति-सुरक्षामा गम्भीर चुनौती थपिएको छ,” एक स्थानीयले भने।
गृह मन्त्रालयको मापदण्ड तथा प्रचलित कानुन अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था र सरकारी कार्यालयको निश्चित दूरीभित्र मदिरा बिक्री-वितरण गर्न पाइँदैन। तर, वडा नं. ३ मा भने उक्त नियमको खुला उल्लंघन भइरहँदा पनि सम्बन्धित निकाय तथा स्थानीय प्रशासन मौन बसेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
स्थानीयबासीहरूले वडा कार्यालय आसपासमा भइरहेको अवैध मदिरा बिक्री-वितरणलाई तत्काल नियन्त्रण तथा पूर्ण प्रतिबन्ध लगाउन वडा कार्यालय, गाउँपालिका र स्थानीय प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन्। समयमै यस विषयमा कडाइ नगरिए सशक्त विरोधमा उत्रने चेतावनी समेत उनीहरूले दिएका छन्।








