काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको स्वरूप प्रविधिको विकाससँगै थप जटिल र संगठित बन्दै गएको बताएका छन्। उनले यसको नियन्त्रणका लागि राज्य, सुरक्षा निकाय, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायबीच समन्वित तथा सामूहिक प्रयास आवश्यक रहेको बताए।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आईजीपी कार्कीले मानव बेचबिखन अब परम्परागत यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह वा बालबालिकाको बेचबिखनमा मात्र सीमित नरहेको बताए।


उनका अनुसार पछिल्ला वर्षहरूमा आकर्षक तलब र सुविधायुक्त रोजगारीको प्रलोभन देखाएर व्यक्तिलाई विदेश पुर्याउने र त्यहाँ बन्धक बनाई डिजिटल प्लेटफर्ममार्फत जबरजस्ती अनलाइन ठगी तथा साइबर स्क्याममा संलग्न गराउने घटना बढ्दै गएको छ।
‘पछिल्ला वर्षहरूमा आकर्षक रोजगारीको प्रलोभनमा पारी विदेश लैजाने र बन्धक बनाई डिजिटल प्लेटफर्ममार्फत जबरजस्ती अनलाइन ठगी तथा साइबर स्क्याम गर्न लगाइने घटनाहरू बढेका छन्,’ आईजीपी कार्कीले भने।
उनले मानव बेचबिखन अहिले अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिएको संगठित अपराधका रूपमा विकास भएको उल्लेख गर्दै यसलाई पुरानो दृष्टिकोणबाट मात्र हेर्न नहुने बताए।
मानव बेचबिखन, साइबर अपराध, आर्थिक अपराध तथा अन्तर्राष्ट्रिय संगठित अपराधबीचको सम्बन्धलाई ध्यानमा राखेर अनुसन्धान, नियन्त्रण र नीतिगत रणनीति निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
आईजीपी कार्कीले बदलिँदो चुनौतीसँग जुध्न कानुनी संरचना, प्राविधिक क्षमता र अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले मानव बेचबिखनविरुद्धको अभियान सफल बनाउन सबै सरोकारवाला निकायको सक्रिय र समन्वित सहभागिता आवश्यक रहेको बताए।






