कोहलपुर, बाँके । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर बाँकेले सैनामैना नगरपालिका–६, कलौनीमा सञ्चालित श्री गोरखनाथ सामुदायिक महिला विद्यालय (सामुदायिक सिकाइ केन्द्र) लाई औपचारिक रूपमा लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा हस्तान्तरण गरेको छ।


२०८३ साल साउन १२ गते सम्पन्न भएको उक्त हस्तान्तरण कार्यक्रमलाई ज्ञान, शिक्षा, साक्षरता, पठन संस्कृति, सीप विकास तथा आजीवन सिकाइको अभियानलाई थप मजबुत बनाउने ऐतिहासिक कदमका रूपमा लिइएको छ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्माले यो हस्तान्तरण केवल संस्थागत जिम्मेवारी परिवर्तन नभई समुदायमा ज्ञानको पहुँच विस्तार गर्ने र सामुदायिक सिकाइ केन्द्रहरूको प्रभावकारी सञ्चालनका लागि नयाँ ऊर्जा प्रदान गर्ने महत्वपूर्ण प्रयास भएको बताएका छन्।
उनले हस्तान्तरणको अवसरमा सैनामैना नगरपालिका, नगर शिक्षा शाखा, श्री गोरखनाथ सामुदायिक महिला विद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी, सिकाइ सहजकर्ता तथा स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै नयाँ जिम्मेवारी ग्रहण गर्ने लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई सफल कार्यकालको शुभकामना दिएका छन्।
अध्यक्ष शर्माले नेपालभरका सामुदायिक पुस्तकालय तथा सामुदायिक सिकाइ केन्द्रहरूबीच सहकार्य, अनुभव आदानप्रदान र ज्ञान साझेदारीमार्फत समुदायको शैक्षिक, सामाजिक तथा सांस्कृतिक विकासमा निरन्तर योगदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
उनले सबैको साथ, सहयोग र समन्वयबाट समुदायमा ज्ञानको उज्यालो अझ व्यापक रूपमा फैलिने विश्वास व्यक्त गर्दै भने, “सामुदायिक पुस्तकालय र सिकाइ केन्द्रहरू समाज परिवर्तनका महत्वपूर्ण आधार हुन्।”
जय पुस्तकालय !
—
एकराज शर्मा
अध्यक्ष
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र
कोहलपुर, बाँके






