काठमाडौं । तराईका विभिन्न जिल्लामा पछिल्लो समय शान्ति–सुरक्षाको अवस्था बिग्रिँदै गएपछि नेपाल प्रहरीले आफ्ना कर्मचारीको नियमित बिदा रोक्ने निर्णय गरेको छ।


नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार किरिया बिदा र प्रसूति बिदाबाहेक अन्य कुनै पनि बिदा स्वीकृत नगर्न मातहतका निकायलाई सर्कुलर गरिएको छ।
सुनसरीमा दुई समूहबीच भएको झडपपछि सुरु भएको प्रदर्शन क्रमशः मोरङ, सिरहा, धनुषा र पर्सासम्म फैलिएको छ। सुरक्षा कारबाहीका क्रममा तीन जनाको मृत्यु भएपछि प्रदर्शन थप उग्र बनेको बताइएको छ।
बढ्दो तनावलाई मध्यनजर गर्दै सुनसरी, मोरङ, सिरहा, धनुषा र पर्साका विभिन्न क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु तथा निषेधाज्ञा जारी गरेको छ।
डीआईजी काफ्लेका अनुसार प्रभावित जिल्लामा थप प्रहरी परिचालन गरिएको छ। नजिकका तालिम केन्द्र, गण, प्रदेश प्रहरी कार्यालय तथा विशेष गणबाट समेत थप जनशक्ति खटाइएको उनले जानकारी दिए।
अधिकतम प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएकाले नियमित बिदा स्थगित गरिएको र सुरक्षा अवस्थालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले आवश्यक सतर्कता अपनाइरहेको जनाएको छ।





