Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

रुपन्देही । रुपन्देहीको सीमावर्ती क्षेत्र बेलहियास्थित एक होटलबाट अवैध रूपमा भीओआईपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) कल बाइपास सञ्चालन गरेको आरोपमा प्रहरीले एक जनालाई उपकरणसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले लामो समयदेखि निगरानी गरेपछि सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बसपार्कस्थित न्यु मुक्ति होटल एन्ड रेस्टुरेन्ट मा छापा मारेको थियो।

प्रहरीका अनुसार होटलको दोस्रो तलाको कोठा भाडामा लिएर बसेका गोरखाको चुमनुब्री गाउँपालिका–४ निवासी ६२ वर्षीय छिरिङ गुरुङलाई साउन १३ गते बिहान करिब १० बजे नियन्त्रणमा लिइएको हो। कोठामा गरिएको खानतलासीका क्रममा अन्तर्राष्ट्रिय कललाई अवैध रूपमा स्थानीय कलमा रूपान्तरण गर्न प्रयोग हुने भीओआईपी उपकरण तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार होटलको कोठालाई नै अवैध दूरसञ्चार केन्द्रका रूपमा प्रयोग गरी अन्तर्राष्ट्रिय कल बाइपास गर्ने गतिविधि सञ्चालन भइरहेको आशंका गरिएको छ। प्रहरीले यस्तो कार्यबाट राज्यको दूरसञ्चार राजस्वमा नोक्सानी पुग्नुका साथै सुरक्षा जोखिमसमेत बढ्ने जनाएको छ।

छापाका क्रममा सिमकार्ड जडान गरिएका दुईवटा डिभाइस, वर्ल्डलिंकको २जी/५जी राउटर, वाइफाइ–६ प्लस ४जी/५जी राउटर, विभिन्न कम्पनीका तीनवटा मोबाइल, भारतीय सिमकार्ड ५६ थान, एनसेल सिमकार्डका खोल ३८ थान, नेपाल टेलिकमको एक थान सिमकार्ड तथा चिनियाँ सिमकार्ड तीन थान बरामद गरिएको छ।

यस्तै, १२ भोल्टको ब्याट्री, इन्भर्टर, मल्टिप्लग, आरजे–४५ केबल, टेबल पंखा, नगद ११ हजार नेपाली रुपैयाँ र सात हजार नौ सय भारतीय रुपैयाँ पनि प्रहरीले बरामद गरेको जनाएको छ।

प्रहरीले बागमती प्रदेश ०२–०२७ प ९५९७ नम्बरको स्कुटर, नेपाली नागरिकता, भारतीय निर्वाचन परिचयपत्र तथा नेपाली सवारीचालक अनुमतिपत्र पनि फेला पारेको छ। एउटै व्यक्तिको कोठाबाट नेपाली नागरिकतासँगै भारतीय निर्वाचन परिचयपत्रसमेत भेटिएकाले ती कागजातको आधिकारिकता र प्रयोगबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका गुरुङविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत भीओआईपी कल बाइपाससम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech