नेपालगञ्ज । सुनसरी र सिराहामा भएका घटनाप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै बाँकेमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले साउन १६ गते सद्भाव–याली आयोजना गरिने भएको छ।
सम्बन्धित सरोकारवालाहरूको सहभागितामा बसेको बैठकले सुनसरीमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिराहामा साउन १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।
बैठकले दुवै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ।
जिल्लामा कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न साउन १६ गते बिहान ७ः३० बजे नेपालगञ्जको बीपी चोकदेखि धम्बोजीस्थित वीरेन्द्र चोकसम्म सद्भाव–याली निकालिने निर्णय गरिएको छ।
त्यसैगरी, वि.सं. २०७२ सालदेखि विभिन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट सार्वजनिक स्थानमा डीजे तथा साउन्ड सिस्टम बजाउन लगाइएको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि बैठकले दोहोर्याएको छ।
बैठकले धार्मिक तथा अन्य यालीहरूमा हातहतियार प्रदर्शन गर्न नपाइने निर्णयसमेत गरेको छ। परम्पराअनुसार हातहतियार प्रदर्शन गर्ने चलन रहेका कार्यक्रमहरूमा वास्तविक हातहतियारको सट्टा प्रतीकात्मक सामग्री मात्र प्रयोग गर्नुपर्ने निर्णय गरिएको जनाएको छ।







