Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

 

बाँके, खजुरा । खजुरा गाउँपालिका–४ स्थित श्री जनकल्याण माध्यमिक विद्यालय, बडैपुर मा आयोजित नवनिर्मित विद्यालय भवन उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निर्वाचित अध्यक्षलाई सभापतिको जिम्मेवारीबाट वञ्चित गरिएको घटनाले स्थानीय स्तरमा गम्भीर प्रश्नहरू उठाएको छ।
विद्यालय व्यवस्थापनको प्रचलित अभ्यासअनुसार विद्यालयको औपचारिक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सभापतित्व गर्ने चलन रहँदै आएको छ। तर उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोर्णदेव गिरी लाई बाइपास गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक लाई सभापति बनाइएको भन्दै अभिभावक, स्थानीयवासी तथा शिक्षा सरोकारवालाले यस निर्णयको कानुनी र नैतिक आधारबारे प्रश्न उठाएका छन्।
यही घटनाको अर्को पाटो अझ रोचक देखिएको छ। कार्यक्रममा उपस्थित नभएको कारण देखाउँदै खजुरा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोर्णदेव गिरीलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न पत्राचार गरेको छ।
उपलब्ध पत्रअनुसार नेपाल–भारत विकास सहयोग कार्यक्रमअन्तर्गत भारतीय राजदूतावास र खजुरा गाउँपालिकाको संयुक्त आयोजनामा २०८३ साल साउन १५ गते आयोजित भवन शिलान्यास/उद्घाटन कार्यक्रममा सहभागी नभएको कारण उल्लेख गर्दै स्पष्टीकरण मागिएको छ। साथै तोकिएको समयभित्र स्पष्टीकरण पेश नगरे नियमअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
यही विषयले अहिले स्थानीय तहमा गम्भीर बहस सिर्जना गरेको छ। स्थानीयको प्रश्न छ– जुन व्यक्तिलाई विद्यालयको आफ्नै कार्यक्रममा सभापतिको अधिकारसमेत दिइएन, त्यही व्यक्तिलाई कार्यक्रममा अनुपस्थित भएको भन्दै स्पष्टीकरण माग्नु कत्तिको न्यायसंगत र नियमसम्मत हो?
अर्कोतर्फ, स्थानीयवासीले वडा नं. ४ का वडा अध्यक्षको अनुपस्थितिबारे पनि प्रश्न उठाएका छन्। यदि कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता आवश्यक थियो भने सम्बन्धित वडा अध्यक्ष किन उपस्थित भएनन् वा किन गराइएन भन्ने विषयमा पनि स्पष्ट जवाफ आउनुपर्ने उनीहरूको माग छ।
शिक्षा प्रशासनमा पारदर्शिता, विधिसम्मत निर्णय र निर्वाचित पदाधिकारीको सम्मान कायम रहनुपर्ने भन्दै अभिभावक तथा सरोकारवालाले खजुरा गाउँपालिका, शिक्षा शाखा र सम्बन्धित निकायसँग यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्।
उठेका मुख्य प्रश्नहरू :
विद्यालय व्यवस्थापन समितिका निर्वाचित अध्यक्षलाई सभापतिबाट किन वञ्चित गरियो?
गाउँपालिका अध्यक्षलाई कुन कानुनी व्यवस्था वा निर्णयका आधारमा सभापति बनाइयो?
सभापतिबाट बाइपास गरिएका अध्यक्षलाई नै अनुपस्थितिको स्पष्टीकरण माग्नु कत्तिको नियमसंगत हो?
यस निर्णयमा शिक्षा ऐन, नियमावली तथा विद्यालय सञ्चालनसम्बन्धी प्रचलित व्यवस्थाको पालना भएको थियो कि थिएन?
वडा अध्यक्षको अनुपस्थितिको वास्तविक कारण के हो?
स्थानीयवासीको भनाइ छ, “नियम सबैका लागि समान हुनुपर्छ। यदि विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अधिकारलाई बेवास्ता गरिएको हो भने त्यसको स्पष्ट कानुनी आधार सार्वजनिक गरिनुपर्छ, अन्यथा यसले विद्यालय प्रशासन र स्थानीय सरकारप्रतिको विश्वासमा प्रश्न उठाउनेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech