Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

बाँके । मुगु जिल्लाको खत्याड गाउँपालिकाबाट विभिन्न समयमा बसाइँसराइ गरी हाल बाँके जिल्लामा बसोबास गर्दै आएका नागरिकहरूको सहभागितामा बैजनाथ गाउँपालिका–१ स्थित गाभर पार्कमा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
बाँकेमा रहेका खत्याडवासीबीच आपसी चिनजान, आत्मीयता, एकता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न उमेर समूहका महिला, पुरुष तथा युवायुवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले एकआपसमा परिचय आदानप्रदान गर्दै सुख–दुःखका अनुभव साटासाट गरेका थिए। घरबाट टाढा रहे पनि एउटै गाउँका नागरिकहरू एकै स्थानमा भेला हुँदा आत्मीय सम्बन्ध अझ प्रगाढ बनेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको मुख्य आकर्षण कर्णाली क्षेत्रको मौलिक सांस्कृतिक पहिचान बोकेको देउडा गीत तथा नृत्य बनेको थियो। सहभागीहरूले सामूहिक रूपमा देउडा खेल्दै आफ्नो मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनप्रति प्रतिबद्धता व्यक्त गरेका थिए। देउडापछि सामूहिक पिकनिक आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले रमाइलो वातावरणमा भोजनसँगै आपसी सम्बन्धलाई थप सुदृढ बनाएका थिए।
आयोजकका अनुसार कार्यक्रम कुनै बाह्य निकायको सहयोगमा नभई सहभागीहरूको स्वैच्छिक आर्थिक योगदानबाट सम्पन्न गरिएको हो। प्रत्येक सहभागीले आफ्नो क्षमताअनुसार करिब पाँच सयदेखि एक हजार रुपैयाँसम्म सहयोग संकलन गरी कार्यक्रम सफल बनाइएको जनाइएको छ।
सहभागीहरूले यस्ता कार्यक्रमले आपसी विश्वास, सहयोग र सद्भाव अभिवृद्धि हुने, दुःख–सुखमा एकअर्काको साथ दिन सहज हुने तथा नयाँ पुस्तालाई आफ्नो गाउँ, समाज र संस्कृतिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
उनीहरूले आगामी दिनमा पनि यस्ता भेटघाट तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै बाँकेमा रहेका खत्याडवासीलाई अझ संगठित र एकताबद्ध बनाउने प्रतिबद्धता जनाएका छन्। गाभर पार्कमा सम्पन्न यो कार्यक्रमले मनोरञ्जनसँगै सामाजिक एकता, भाइचारा र सामुदायिक सहकार्यको सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech