बाँके । नेपालगञ्जमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा अखाद्य रङ मिसाइएको मासको दाल बरामद भएपछि नष्ट गरिएको छ भने कर बीजक नराखी ग्यास कारोबार गर्ने एक डिस्ट्रिब्युटरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।


मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन संयोजक महेश गुरुङको नेतृत्वमा भएको अनुगमनका क्रममा नेपालगञ्ज–१८ स्थित आकाश राइस मिलबाट सेतु विक चोकस्थित राहुल खाद्यान्न तथा किराना पसलमा बिक्री गरिएको करिब २० किलो तथा मिलमै रहेको १० किलो मासको दालमा अखाद्य रङ (कलर) मिसाइएको भेटिएको हो। उक्त दाल मुचुल्का गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले जानकारी दिए।
अनुगमनका क्रममा आकाश राइस मिलको व्यवस्थापनसमेत अत्यन्त कमजोर पाइएको जनाउँदै खाद्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न मिल सञ्चालकलाई निर्देशन दिइएको उनले बताए।
यस्तै, सेतु विक चोकस्थित गौरी मार्टमा गरिएको अनुगमनका क्रममा केही उपभोग्य वस्तुको म्याद समाप्त (एक्सपायरी) भइसकेको भेटिएको छ। ती सामग्री तत्काल हटाउन तथा बिक्री वितरण नगर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ।
त्यसैगरी, नेपालगञ्ज–२ स्थित न्यू श्रीस डिस्ट्रिब्युटर्सले कर बीजक नराखी ग्यास कारोबार गरेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची राखिएको भए पनि अद्यावधिक नगरिएको र पुरानै मूल्यसूची प्रयोग गरिएको समेत पाइएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।
संयुक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।






