Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको घटनामा तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालसहित सम्बन्धित प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।

गत भदौमा कालीकोटका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंह ज्यान मार्ने मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका थिए। पक्राउ परेको तीन दिनपछि हिरासतमा रहँदा उनको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

सिंहका परिवारले प्रहरी हिरासतमा यातना दिइएकै कारण उनको मृत्यु भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिनको माग गरेका थिए। त्यसबेला घटनाको अनुसन्धान प्रभावकारी रूपमा अघि बढ्न नसके पनि लामो समयपछि लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका तत्कालीन प्रमुख एसएसपी सन्तोष राठौरको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान गरिएको थियो। हाल राठौरको सरुवा प्रदेश प्रहरी कार्यालय कर्णालीमा भइसकेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार छानबिनबाट प्रहरीको कमजोरीका कारण सिंहको मृत्यु भएको निष्कर्ष निकालिएको छ। सोही आधारमा तत्कालीन डीएसपी लक्ष्मी खनालसहित हिरासत कक्षमा खटिएका प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको हो।

एक प्रहरी अधिकारीका अनुसार हिरासतमा राखिएको व्यक्तिको मृत्यु हुनु आफैंमा गम्भीर विषय भएकाले त्यसको जिम्मेवारी सम्बन्धित प्रहरी अधिकारीले लिनुपर्ने हुन्छ। प्रहरीको लापरबाही वा कमजोरी देखिएमा विभागीय कारबाही प्रक्रिया अघि बढाइने व्यवस्था रहेको उनले बताए।

लुम्बिनी प्रदेश प्रहरीले छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइसकेको छ। प्रतिवेदन प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयको कानुन शाखाले डीएसपी खनालमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ।

सिंहको मृत्यु प्रकरण सार्वजनिक रूपमा विवादमा आएपछि डीएसपी खनाललाई गत असोजमै इलाका प्रहरी कार्यालय कोहलपुरबाट तानेर अपराध अनुसन्धान विद्यालयअन्तर्गत प्रशिक्षण व्यवस्थापन शाखा, महाराजगञ्ज, काठमाडौंमा सरुवा गरिएको थियो।

कोहलपुर इलाका प्रहरी कार्यालयको पहिलो महिला प्रमुखका रूपमा जिम्मेवारी सम्हालेकी डीएसपी लक्ष्मी खनालको कार्यकाल सिंहको हिरासत मृत्यु प्रकरणपछि विवादमा परेको थियो। उक्त घटनापछि उनी करिब छ महिनामै कोहलपुरबाट सरुवा भएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech