काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको कुनै अभाव नरहेको दाबी गर्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण नगर्न आग्रह गरेको छ। पछिल्लो समय ग्यास नपाएको भन्दै उपभोक्ताबाट गुनासो बढेपछि निगमले प्रेस विज्ञप्ति जारी गर्दै आपूर्ति नियमित रहेको स्पष्ट पारेको हो।
निगमका अनुसार असार ३१ गतेको सञ्चालक समितिको निर्णयअनुसार १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री वितरणको व्यवस्था मिलाइएको छ। दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको भए पनि बजारमा अभाव भएको भन्ने समाचार र जनगुनासोप्रति निगमको ध्यानाकर्षण भएको जनाएको छ।


१४.२ केजीका सिलिन्डरको बिक्री सुरु भएसँगै बजारमा ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि सम्पूर्ण ग्यास उद्योगलाई सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिइएको निगमले जनाएको छ। साथै घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई विशेष प्राथमिकता दिन पनि आग्रह गरिएको छ।
काठमाडौं उपत्यकामा बढ्दो मागलाई मध्यनजर गर्दै निगमले शनिबारदेखि टेकुस्थित कार्यालयबाट नेपाल ग्यास, एलपी ग्यास, एसएच ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका १४.२ केजी क्षमताका सिलिन्डर बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।
ग्यास प्राप्त गर्न समस्या परेमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तासँग अनुरोध गरिएको छ।
निगमका अनुसार हाल मासिक औसत करिब ४७ हजार मेट्रिक टन एलपी ग्यास खपत हुने गरेको छ भने मागअनुसार आपूर्ति भइरहेको छ। आकस्मिक रूपमा माग बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस महिनाको आयातसमेत बढाइएको निगमले जनाएको छ।
साउन १ गतेदेखि १८ गतेसम्म ३१ हजार ८६१ मेट्रिक टन एलपी ग्यास आयात भइसकेको उल्लेख गर्दै निगमले हाल आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ। साथै काठमाडौं उपत्यका बाहिरका उपभोक्तालाई एलपी ग्याससम्बन्धी गुनासो वा जानकारीका लागि सम्बन्धित प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा डिपोका सम्पर्क अधिकारीमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।






