कोहलपुर, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोहलपुर नगर समितिले कृषकलाई मल वितरणको व्यवस्थापन, अव्यवस्थित अटो सञ्चालन, नगर विकास समितिको होल्डिङ सेल्टरमा रहेका परिवारको अवस्था तथा सडकबत्ती व्यवस्थापनलगायतका विषयमा कोहलपुर नगरपालिकाको ध्यानाकर्षण गराएको छ।
पार्टीका नगर सभापति राजेन्द्र कुमार श्रेष्ठले नगर उपप्रमुख तथा नगर प्रमुखलाई छुट्टाछुट्टै पत्र बुझाउँदै खेतीको मुख्य समयमा कृषकले सहज रूपमा रासायनिक मल नपाउँदा सास्ती खेप्नुपरेको उल्लेख गरेका छन्। आधिकारिक रूपमा मल बिक्री गर्ने सहकारी संस्थाहरूको वितरण प्रणाली व्यवस्थित बनाउन तथा विशेष गरी वडा नं. ७ का कृषकलाई पायक पर्ने वडा नं. १४ बाट समेत सहज रूपमा मल उपलब्ध हुने व्यवस्था मिलाउन आग्रह गरिएको छ।


पत्रमा श्रावण १३ गते साझा सहकारी संस्था लिमिटेड, कोहलपुरले प्राप्त ९२ बोरा मलमध्ये केही व्यक्तिलाई ६–६ बोरासम्म वितरण गरेको तथा ४० बोरा मल लुकाइएको भन्ने जनगुनासो आएको उल्लेख गर्दै सो घटनाबारे सम्बन्धित कार्यसमिति र कर्मचारीसँग स्पष्टीकरण मागी सत्यतथ्य सार्वजनिक गर्न पनि अनुरोध गरिएको छ।
त्यसैगरी, कोहलपुरमा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका अटोका कारण दुर्घटनाको जोखिम बढेको भन्दै दर्ता भएको कार्यक्षेत्रअनुसार सञ्चालनको व्यवस्था गर्न, चालकलाई ट्राफिक नियम, बिमा र लाइसेन्ससम्बन्धी सडक साक्षरता तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न नगरपालिकासँग पहलको माग गरिएको छ।
यस्तै, नगर प्रमुख तथा नगर विकास समिति अध्यक्षलाई बुझाइएको अर्को पत्रमा नगर विकास समितिको अतिक्रमित जग्गाबाट हटाइ होल्डिङ सेल्टरमा राखिएका परिवारले सरकारले तोकेको न्यूनतम सेवा–सुविधासमेत नपाएको जनगुनासो आएको उल्लेख गरिएको छ। प्रत्यक्ष अवलोकनका क्रममा शुद्ध पिउने पानी, दुई छाक खानाको व्यवस्था, व्यवस्थित शौचालय तथा सुत्नका लागि पर्याप्त झुललगायत आधारभूत सुविधाको अभाव देखिएको भन्दै तत्काल आवश्यक व्यवस्थापन गर्न आग्रह गरिएको छ।
रास्वपाले होल्डिङ सेल्टरमा रहेका परिवारको दीर्घकालीन व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाका १५ वटै वडामा रहेका ऐलानी तथा जंगलाद जग्गाको खोजी गरी भूमि आयोग र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाउन पनि माग गरेको छ।
यसैबीच, महेन्द्र राजमार्गअन्तर्गत कोहलपुर चौराहादेखि चप्परगौडी डुडुवा पुलसम्म रातिको समयमा सडकबत्ती नहुँदा महिला, सर्वसाधारण तथा यात्रु दुर्घटना, लुटपाट र अन्य आपराधिक घटनाको जोखिममा पर्ने अवस्था रहेको उल्लेख गर्दै उक्त सडकखण्डमा यथाशीघ्र सडकबत्ती जडान गर्न पनि नगरपालिकासँग अनुरोध गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर समितिले यी सबै विषयमा सम्बन्धित निकायले शीघ्र पहल गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेको छ।







