काठमाडौं । खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको आशंकापछि गृह मन्त्रालय र उद्योग मन्त्रालयले काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा सादा पोसाकका प्रहरी परिचालन गरेका छन् ।
भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक अभाव देखिएको र उपभोक्ताले सहज रूपमा ग्यास नपाएको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू आउन थालेपछि उद्योगमन्त्री गौरी यादवले विषयलाई गम्भीरतापूर्वक लिएकी हुन् ।


आपूर्ति पर्याप्त हुँदाहुँदै कृत्रिम अभाव देखाएर उपभोक्तालाई दुःख दिने, ग्यास लुकाउने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने गतिविधि भइरहेको आशंकापछि मन्त्री यादवले गृहमन्त्री सुधन गुरुङसँग समन्वय गरी प्रभावकारी अनुगमन र निगरानीका लागि प्रहरी परिचालन गर्न आग्रह गरेकी थिइन् ।
सोहीअनुसार आइतबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा सादा पोसाकका प्रहरी खटाएर निगरानी तथा अनुगमन सुरु गरिएको हो ।
प्रहरीले ग्यासको मौज्दात, बिक्री वितरण र मूल्यसम्बन्धी विवरणमाथि निगरानी राखिरहेको छ । ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने वा कालोबजारी गर्ने गतिविधि फेला परे तत्काल कानुनी कारबाही गर्ने गरी प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
विशेषगरी उपभोक्तालाई ग्यास नदिने, मौज्दात हुँदाहुँदै अभाव देखाउने, बढी मूल्यमा बिक्री गर्ने तथा अनधिकृत रूपमा ग्यास भण्डारण गर्ने गतिविधिमाथि प्रहरीले विशेष निगरानी राखिरहेको छ ।
सरकारले बजारमा ग्यासको वास्तविक आपूर्ति अवस्था र बिक्री वितरण प्रणालीबारे निगरानी बढाउँदै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले अनुगमनलाई प्रभावकारी बनाएको जनाएको छ ।





