सुर्खेत । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका बाढीपहिरो पीडितका लागि राहत सामग्री पठाएको छ। अविरल वर्षाका कारण पहिरोको जोखिममा परेका स्थानीयवासीलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले राहत सामग्री पठाएको हो।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पहिरोपीडितको अवस्था र तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकार पीडितको साथमा रहेको सन्देश दिएका छन्। प्रदेश सरकारले तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउँदै विपद्को समयमा प्रभावित नागरिकलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता जनाएको छ।


प्रदेश सचिव लक्ष्मी विकका अनुसार जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार आवश्यक राहत सामग्री पठाइएको हो। प्रदेश सरकारले तत्कालका लागि आवश्यक सामग्री उपलब्ध गराएर प्रभावित परिवारलाई राहत पुर्याउने पहल गरेको जनाएको छ।
राहत सामग्रीअन्तर्गत १५० थान त्रिपाल, १८५ थान ब्ल्याङ्केट, ५० किलो चिउरा, ४ क्विन्टल चामल, २० सेट टेन्ट, २ रोल कालो प्लास्टिक र २ रोल पिफम पठाइएको छ।
पहिरोको जोखिममा रहेका करिब १५० देखि २०० स्थानीयवासीलाई सुरक्षित स्थानमा रहेको त्रिभुवन आधारभूत विद्यालयमा राखिएको छ। प्रभावित नागरिकलाई तत्काल सुरक्षित आश्रयको व्यवस्था गर्नुका साथै आश्रय लिएका पीडितको स्वास्थ्य परीक्षणसमेत भइरहेको जनाइएको छ।
मुख्यमन्त्री शाहीले विपद्को समयमा प्रभावित नागरिकको आवश्यकता र स्थानीय तहबाट प्राप्त मागका आधारमा राहत तथा सहयोगलाई निरन्तरता दिने बताएका छन्।
प्रदेश सरकारका अनुसार “तत्कालका लागि आवश्यक राहत सामग्री पठाएको छ, थप आवश्यकता र मागका आधारमा राहत वितरणलाई निरन्तरता दिइनेछ।” मुख्यमन्त्री शाहीले विपद्बाट प्रभावित नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिएको बताएका छन्।
अविरल वर्षाका कारण जाजरकोटको उक्त क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेकाले स्थानीयवासीलाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरिएको छ।
“प्रदेश सरकार तपाईंसँगै छ !” भन्ने सन्देशसहित कर्णाली प्रदेश सरकारले विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।





