बाँके । रत्न राजमार्गअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित चिसापानीमा सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्रा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको चालकको लागुऔषध परीक्षणमा ८ जना चालक पोजेटिभ देखिएका छन्।


जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त आयोजनामा तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको सहकार्यमा राजमार्गमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीसाधनका चालकको ड्रग टेस्ट गरिएको हो।
परीक्षणका क्रममा जम्मा २५ जना चालकको ड्रग टेस्ट किटमार्फत प्राविधिक परीक्षण गरिएको थियो। तीमध्ये ८ जना चालकले लागुऔषध सेवन गरेको देखिएको प्रहरीले जनाएको छ।
लागुऔषध सेवन गरी सवारी चलाउँदा चालकको निर्णय क्षमता, प्रतिक्रिया समय तथा सवारी नियन्त्रणमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले सडक दुर्घटना न्यूनीकरणका लागि चालक लक्षित परीक्षणलाई प्राथमिकता दिइएको प्रहरीको भनाइ छ।
ड्रग टेस्टमा पोजेटिभ देखिएका चालकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको नियन्त्रणमा राखिएको छ।
प्रहरीले यात्रुवाहक तथा मालवाहक सवारीसाधनका चालकले लागुऔषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिले चालक स्वयं, यात्रु तथा अन्य सडक प्रयोगकर्ताको ज्यान जोखिममा पार्न सक्ने भन्दै नियमित परीक्षण तथा निगरानीलाई निरन्तरता दिने जनाएको छ।
रत्न राजमार्गमा पछिल्लो समय सवारीसाधनको चाप बढ्दै गएको अवस्थामा चालकको स्वास्थ्य अवस्था, मादक पदार्थ तथा लागुऔषध सेवनलगायतका विषयमा गरिने यस्ता परीक्षणले सुरक्षित सडक यात्राको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रहरीको यो अभियानले ‘सवारी चलाउँदा नशा होइन, जिम्मेवारी’ भन्ने सन्देशसमेत दिएको छ। सडक सुरक्षाका लागि चालकको अनुशासन र जिम्मेवारीसँगै नियमित प्रहरी निगरानी तथा परीक्षणलाई प्रभावकारी बनाउनु आवश्यक देखिएको छ।






