Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

म्याग्दी । अन्नपूर्ण आधार शिविर जोड्ने म्याग्दीको चर्चित ‘मौरिस हर्जोग’ पदमार्गमा पर्यटकको सहजताका लागि ‘स्मार्ट’ सूचना प्रणाली तयार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले क्युआर कोडको माध्यमबाट पदमार्गसम्बन्धी आवश्यक सम्पूर्ण जानकारी मोबाइलबाटै प्राप्त गर्न सकिने प्रणाली विकास गरेको हो ।

प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार बेनीदेखि अन्नपूर्ण आधार शिविरसम्मका होटल तथा रेष्टुरेन्ट, आश्रयस्थल, सवारी चालकका सम्पर्क नम्बर, एक गन्तव्यबाट अर्को गन्तव्यसम्म पुग्न लाग्ने समय, उचाइ तथा समस्या परेमा सम्पर्क गर्नुपर्ने निकायका फोन नम्बरलगायत विवरण प्रणालीमा समावेश गरिएको छ ।

“आधार शिविर भ्रमणमा जानुअघि आवश्यक जानकारी लिन व्यक्तिले पटक–पटक फोन गर्न नपरोस् र यात्राका क्रममा अप्ठ्यारो परेमा पर्यटकले सहजै सहयोग लिन सकून् भन्ने उद्देश्यले कार्यालयकै जनशक्तिको सीप, अनुभव र दक्षताको प्रयोग गरी स्मार्ट सूचना प्रणाली विकास गरेका हौँ,” प्रहरी नायब उपरीक्षक कार्कीले भने ।

उनका अनुसार प्रणालीलाई आवश्यकताअनुसार नियमित रूपमा अपडेट तथा परिमार्जन गर्दै लगिनेछ ।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाले अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गका विषयमा फोनमार्फत जानकारी माग्नेको संख्या धेरै रहेकाले पर्यटकले कसैलाई फोन नगरी आवश्यक सूचना प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको बताए ।

उनका अनुसार बसपार्क, होटल, प्रहरी चौकी तथा विभिन्न सार्वजनिकस्थलमा सर्वसाधारणको सहज पहुँच हुने गरी क्युआर कोड राखिनेछ । साथै सामाजिक सञ्जालमार्फत पनि प्रणालीको प्रचारप्रसार गरिनेछ ।

छोटो दूरीमा अन्नपूर्ण आधार शिविर

समुद्री सतहदेखि चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर छोटो दूरीमा सहज पदयात्राबाट पुग्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्दै आएको छ ।

नारच्याङदेखि हुमखोलासम्म करिब २० किलोमिटर सडक तथा हुमखोलादेखि आधार शिविरसम्म २२ किलोमिटर आधारभूतस्तरको पदमार्ग विसं २०७७ देखि सञ्चालनमा आएको हो ।

मिस्त्रीखोलाको किनारैकिनार हुँदै अघि बढ्ने पदमार्गबाट अग्ला झरना, हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति तथा वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।

सामान्यतया दुई दिनमा आधार शिविर पुगेर तेस्रो दिन फर्कन सकिने पदमार्गका रूपमा यसलाई विकास गरिएको छ ।

अन्नपूर्ण हिमालसँगै पञ्चकुण्ड तालको आकर्षण

नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको अन्नपूर्ण आधार शिविर समथर फाँटमा अवस्थित छ । आधार शिविरभन्दा केही तल समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल रहेको छ ।

आधार शिविरको डाँडाबाट पञ्चकुण्ड ताल र हिमालको दृश्य एकैपटक अवलोकन गर्न सकिन्छ । करिब एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आएको पानी जम्मा भएर बनेको प्राकृतिक हिमताल हो ।

अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकै स्थानबाट अवलोकन गर्न सकिनु अन्नपूर्ण आधार शिविर पदयात्राको प्रमुख आकर्षणका रूपमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech