काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुने पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन्।
आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन गर्ने विषयमा छलफल हुनेछ। यस्तै, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण, सांगठनिक व्यवस्थापन तथा मनोनयनसम्बन्धी विषयमा पनि छलफल हुने छ।


बैठकमा केन्द्रीय समिति सदस्य, पदाधिकारी तथा सचिवालय सदस्य मनोनयनका विषयमा पनि छलफल हुने बताइएको छ। त्यस्तै विभागीय प्रमुखहरूको मनोनयन र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनसम्बन्धी प्रस्तावमाथि समेत छलफल हुनेछ।
त्यसैगरी, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्य नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोट रूपरेखासम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा बैठकले निर्णय गर्नेछ।
पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि आवश्यक निर्णय बैठकबाट हुने महामन्त्री आचार्यले बताए।
बैठकले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया तथा पार्टीको सांगठनिक संरचनासँग सम्बन्धित महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।





