Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी प्रमुखलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अपराध नियन्त्रण, अनुसन्धानको प्रभावकारिता, सार्वजनिक सुरक्षा तथा प्रहरी सेवामा सुधारलाई प्राथमिकतामा राखेर निर्देशन दिएका छन्।

आईजीपी कार्कीले नेपाल प्रहरीका विभिन्न ब्यूरो, प्रदेश तथा जिल्ला प्रहरी कार्यालय, ट्राफिक, अनुसन्धान, तालिम, विमानस्थल सुरक्षा, विपद् व्यवस्थापन तथा विशेष सुरक्षा इकाइका प्रमुखसँग प्रत्यक्ष संवाद गर्दै समसामयिक सुरक्षा चुनौतीबारे आवश्यक निर्देशन दिएका हुन्।

भर्चुअल ब्रिफिङमा नेपाल प्रहरीका केन्द्रीय संरचनादेखि प्रदेश, जिल्ला र फिल्ड तहसम्मका प्रमुख सहभागी थिए। अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, विमानस्थल सुरक्षा, विपद् व्यवस्थापन, विशेष सुरक्षा तथा प्रहरी प्रशिक्षणसँग सम्बन्धित कार्यालयका प्रमुखलाई एउटै माध्यमबाट सम्बोधन गरिनुलाई प्रहरी संगठनभित्र कमाण्ड, समन्वय र जवाफदेहितालाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।

विशेषगरी जिल्ला प्रहरी परिसर तथा कार्यालय, प्रहरी वृत्त र मुद्दा चल्ने ‘क’ श्रेणीका इलाका प्रहरी कार्यालयसम्मका प्रमुखलाई समेत निर्देशनको दायरामा ल्याइएको थियो। यसले अपराध नियन्त्रणको जिम्मेवारीलाई स्थानीय तथा फिल्ड तहसम्म थप केन्द्रित गर्न खोजिएको संकेत गरेको छ।

पछिल्लो समय अपराध अनुसन्धानको प्रभावकारिता, जनगुनासो सम्बोधन, सार्वजनिक सुरक्षा तथा प्रहरीको कार्यशैलीलाई लिएर विभिन्न प्रश्न उठ्ने गरेका छन्। यस्तो अवस्थामा केन्द्रीय तहमा मात्र नभई फिल्डमा खटिएका प्रहरी नेतृत्वलाई समेत प्रत्यक्ष रूपमा जोडेर निर्देशन दिनुलाई महत्वपूर्ण मानिएको छ।

अपराध भइसकेपछि अनुसन्धान गर्नेभन्दा अपराध हुन नदिन सूचना संकलन, निगरानी र पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने चुनौती प्रहरीसामु छ। लागूऔषध, तस्करी, साइबर अपराध, संगठित अपराध, चोरी, ठगी तथा हिंसाजन्य घटनामा प्रहरीको प्रारम्भिक प्रतिक्रिया र अनुसन्धानको गुणस्तरले नागरिकको प्रहरीप्रतिको विश्वास निर्धारण गर्ने भएकाले फिल्ड कमाण्डको भूमिका महत्वपूर्ण मानिन्छ।

भर्चुअल ब्रिफिङमा ट्राफिक तथा राजमार्ग सुरक्षालाई समेत प्राथमिकतामा राखिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापनसँग सम्बन्धित कार्यालयलाई समेत निर्देशनको संरचनामा समेटिएको छ। सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, यात्रुमैत्री प्रहरी सेवा तथा राजमार्गमा हुने अवैध गतिविधि नियन्त्रणका लागि स्थानीय प्रहरी र ट्राफिक प्रहरीबीच प्रभावकारी समन्वय आवश्यक रहेको प्रहरी नेतृत्वको जोड छ।

प्रहरी सेवाको प्रभावकारिता अपराध नियन्त्रणमा मात्र सीमित हुँदैन। प्रहरी कर्मचारीको व्यावसायिक आचरण, अनुसन्धानको निष्पक्षता, सेवाग्राहीसँगको व्यवहार तथा नागरिकका गुनासोको समयमै सम्बोधन पनि संगठनको विश्वसनीयतासँग प्रत्यक्ष जोडिन्छ। त्यसैले आईजीपीले दिएको निर्देशन फिल्ड तहमा कत्तिको प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने विषय महत्वपूर्ण हुनेछ।

भर्चुअल माध्यमबाट देशभरका प्रहरी संरचनालाई एउटै कमाण्ड संवादमा जोडिए पनि यसको वास्तविक प्रभाव भने फिल्डमा देखिने परिणामले निर्धारण गर्नेछ। अपराध नियन्त्रणमा सुधार, अनुसन्धानको गुणस्तर वृद्धि, प्रहरी सेवाप्रति नागरिकको विश्वास र जनगुनासो सम्बोधनमा देखिने परिवर्तन नै आईजीपी कार्कीको निर्देशनको प्रभावकारिताको मुख्य मापदण्ड बन्नेछ।

देशभरका प्रहरी संयन्त्रलाई एउटै कमाण्ड संवादमा जोड्दै आईजीपी कार्कीले एकीकृत कमाण्ड, समन्वय र जवाफदेहिताको सन्देश दिएका छन्। अब चुनौती भने भर्चुअल बैठकमा सीमित निर्देशनलाई व्यवहारमा उतार्दै अपराध नियन्त्रण र नागरिकमैत्री प्रहरी सेवामा ठोस परिणाम देखाउनु हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech