कोहलपुर । नेपाल गोजुरियो कराँते दो–संघ, बाँकेको आयोजनामा कोहलपुरमा प्रथम लुम्बिनी प्रदेशस्तरीय खुल्ला कराँते प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। प्रतियोगिताले प्रदेशका विभिन्न स्थानमा रहेका कराँते खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै खेल प्रतिभाको विकास र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
संघले प्रतियोगितामा सहभागी हुन इच्छुक टिम तथा खेलाडीलाई सहभागिताका लागि आह्वान गर्दै प्रशिक्षकहरूलाई आफ्नो टिम सहभागी गराइदिन आग्रह गरेको छ। आयोजकका अनुसार प्रतियोगिता भदौ १४ गते कोहलपुर–३, मदनचोकस्थित कोहलपुर बागेश्वरी ई. मि. स्कुल मा सञ्चालन हुनेछ।
प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि प्रति खेलाडी दर्ता शुल्क रु. १ हजार ५ सय तोकिएको छ। टिम दर्ताको अन्तिम मिति २०८३/०५/१० तोकिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आकर्षक पुरस्कारसहित सम्मान गरिनेछ। स्वर्ण पदक विजेताले रु. ९ हजार, रजत पदक विजेताले रु. ७ हजार तथा कांस्य पदक विजेताले रु. ८ सय नगद पुरस्कारसहित पदक, प्रमाणपत्र र कराँते टी–सर्ट प्राप्त गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी उत्कृष्ट टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम टिमलाई रु. ५ हजार, द्वितीय टिमलाई रु. ३ हजार र तृतीय टिमलाई रु. २ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी सबै खेलाडीलाई टी–सर्ट र पार्टिसिपेन्ट सर्टिफिकेट उपलब्ध गराइनेछ। खेलाडीहरूका लागि भदौ १४ गते बिहान ९ बजेदेखि खानाको समेत व्यवस्था गरिएको पत्रमा उल्लेख छ।
प्रतियोगिताको अर्को आकर्षणका रूपमा सिनियरतर्फ रु. २ हजार र जुनियरतर्फ रु. १ हजार नगद पुरस्कारसहित ट्रफी, प्रमाणपत्र, खाना तथा नास्ताको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
आयोजकले प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकले बसोबास र खानाको व्यवस्था भने आफैं गर्नुपर्ने स्पष्ट पारेको छ। खेलाडीहरूले आवश्यक कुमितेसहितका सामग्री तथा व्यक्तिगत खेल सामग्री समेत आफैं व्यवस्था गर्नुपर्नेछ।
आयोजकका अनुसार प्रतियोगिताको टाइसिट २०८३/०५/१२ गते सार्वजनिक गरिनेछ। खेलाडीको ड्रेस अनिवार्य रूपमा तोकिएको मापदण्डअनुसार हुनुपर्ने र निर्धारित समयमा इन्ट्री नगर्ने खेलाडीलाई प्रतियोगितामा सहभागी नगराइने जानकारी दिइएको छ।
नेपाल गोजुरियो कराँते दो–संघ, बाँकेका अध्यक्ष निम प्रसाद खनालले प्रतियोगितालाई प्रदेशस्तरमा कराँते खेलको विकास, खेलाडीको क्षमता पहिचान र नयाँ प्रतिभालाई अवसर दिने उद्देश्यले अघि बढाइएको बताएका छन्।
कोहलपुरमा पहिलोपटक आयोजना हुन लागेको यस प्रकारको प्रदेशस्तरीय खुल्ला प्रतियोगिताले स्थानीय खेलकुद गतिविधिलाई समेत थप चलायमान बनाउने विश्वास गरिएको छ। विभिन्न जिल्लाका खेलाडीको सहभागिताले कोहलपुरलाई खेलकुद प्रतिभा र प्रतिस्पर्धाको साझा केन्द्रका रूपमा स्थापित गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताका माध्यमबाट खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मात्र नभई अनुभव आदान–प्रदान र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने अवसरसमेत पाउनेछन्। यसले स्थानीय तहदेखि प्रदेशस्तरसम्म कराँते खेलको आधार बलियो बनाउन सकारात्मक भूमिका खेल्ने देखिन्छ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलाडी, प्रशिक्षक, अभिभावक तथा खेलप्रेमी सबैको सहयोग र सहभागिताको अपेक्षा गरेको छ। प्रतियोगितामा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम हुने समेत सूचनामा उल्लेख गरिएको छ।







