काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विगतमा भएका आपराधिक घटनालाई प्रहरीले ‘इन्स्टिच्युसनल मेमोरी’मा सुरक्षित राख्ने भएकाले अपराधमा संलग्न व्यक्तिलाई जुनसुकै बेला कानुनी कारबाहीको दायरामा ल्याउन सकिने बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानी गर्दै आईजीपी कार्कीले लामो इतिहास बोकेको प्रहरी संगठनले विगतका आपराधिक घटनालाई नबिर्सने बताए। उनले दशकौँ पुराना घटनामा समेत संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको उल्लेख गरे।


“व्यक्तिको स्मरण छोटो समयमा समाप्त हुन्छ । तर, प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्सँदैन,” आईजीपी कार्कीले भने, “पुराना घटनाको अध्ययन र निरन्तर अनुसन्धानबाट घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने कार्य प्रहरीले गर्दै आएको छ।”
उनका अनुसार विगतका चर्चित घटनाको अनुसन्धानका लागि विशेष टोली गठन गरी काम भइरहेको छ। त्यस्ता अनुसन्धानबाट केही घटनामा महत्वपूर्ण सफलता हासिल भएको उनले बताए।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत पुराना तथा जघन्य प्रकृतिका अपराधको अनुसन्धान भइरहेको जानकारी दिँदै आईजीपी कार्कीले नयाँ र पुराना मुद्दालाई सँगसँगै अघि बढाइएको बताए।
“नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिएको छ,” उनले भने।
आईजीपी कार्कीले परम्परागत अनुसन्धान पद्धतिले मात्रै वर्तमान समयका चुनौतीलाई सम्बोधन गर्न नसक्ने धारणा राखे। प्रहरी कर्मचारीलाई थप जिम्मेवार, स्वचालित र उत्प्रेरित बनाउन पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरिएको उनले बताए।
उनका अनुसार कार्यसम्पादन सूचकका आधारमा प्रहरी कर्मचारीको मूल्याङ्कन गरिनेछ। यसले कर्मचारीलाई आफ्नो कार्यसम्पादन सुधार गर्ने अवसरसमेत प्रदान गर्ने उनले बताए।
प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै आईजीपी कार्कीले प्रविधिको प्रयोगबाट नागरिकले सामान्य सेवाका लागि प्रहरी कार्यालयसम्म पुग्नुपर्ने अवस्था कम हुँदै गएको बताए।
अपराधको विश्वव्यापी सञ्जाललाई निस्तेज पार्न विभिन्न देशका प्रहरी संगठन, इन्टरपोल तथा अन्य मुलुकका विशिष्टीकृत अनुसन्धान इकाइसँग आवश्यक समन्वय भइरहेको पनि उनले जानकारी दिए।
नेपाल प्रहरी आमनागरिकको सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने संगठन भएको उल्लेख गर्दै आईजीपी कार्कीले समाजमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्नुका साथै नागरिकको जीउधनको सुरक्षाका लागि सबै तह र तप्काको सहयोग आवश्यक रहेको बताए।





