नेपालगञ्ज । जाजरकोट नगरपालिका–२, रिसाङ क्षेत्रमा साउन ३० गते गएको पहिरोबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लब अफ सेन्ट्रल बाँकेको नेतृत्वमा सञ्चालन गरिएको राहत अभियान सम्पन्न भएको छ।
“जाजरकोट–रसुवा विपद् राहत कोष–२०२६” अन्तर्गत क्लबले रु. २ लाख ५९ हजार १७५ बराबरको राहत सामग्री तथा वस्तुगत सहयोग संकलन गरी प्रभावित समुदायमा वितरण गरेको हो।


अभियानमा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान, रोटरी क्लब अफ सेन्ट्रल बाँके, स्पोन्सर क्लब रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बाँके तथा इन्टर्याक्ट क्लब अफ बागेश्वरी माविलगायतको सहयोग रहेको थियो।
राहत सामग्रीमा खाद्यान्न, विद्यालय झोला, न्यानो कपडाका सेट, कम्बल, दरी, झुल, बाल्टिनलगायत विपद् प्रभावित परिवार तथा विद्यार्थीका लागि आवश्यक सामग्री समावेश थिए। विभिन्न संस्था तथा व्यक्तिबाट प्राप्त वस्तुगत सहयोगले अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको क्लबले जनाएको छ।
राहत सामग्री संकलन, व्यवस्थापन, ढुवानी तथा वितरणमा क्लबका अध्यक्ष रोटेरियन ईश्वरी जंग मल्ल, प्रेसिडेन्ट इलेक्ट रोटेरियन बिमल कार्की, रोटेरियन सरोज रेग्मी, रोटेरियन मनीष मण्डल तथा प्रस्तावित सदस्य प्रेम प्रसाद चौलागाईं स्वयंसेवकका रूपमा सक्रिय रहेका थिए।
अभियानका क्रममा मेरो टुकी प्रज्ञालयले यातायात सहयोग उपलब्ध गराएको थियो। यस्तै, नेपालगञ्ज भन्सार एजेन्ट संघलगायत विभिन्न गैर–रोटेरियन सामाजिक अभियन्ताहरूले समेत राहत अभियानमा सहयोग गरेका थिए।
राहत वितरण तथा स्थानीय समन्वयमा भेरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय जाजरकोट, भेरी नगरपालिका–२ तथा यात्रा मिडिया हाउसको महत्वपूर्ण सहयोग रहेको क्लबले जनाएको छ।
क्लबले अभियान सफल बनाउन सहयोग गर्ने रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान, रोटरी तथा इन्टर्याक्ट क्लबहरू, सहयोगी संघसंस्था, सामाजिक अभियन्ता, स्वयंसेवक तथा स्थानीय निकायप्रति आभार व्यक्त गरेको छ।
क्लबका अनुसार विपद्को समयमा राहत सामग्री वितरणमा मात्र सीमित नभई प्रभावित समुदायको वास्तविक आवश्यकता पहिचान गरी आगामी दिनमा पनि मानवीय सेवा, सामाजिक उत्तरदायित्व र समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइनेछ।
रसुवा विपद् प्रभावितका लागि १ लाख सहयोग गर्ने प्रतिबद्धता
यसैबीच, रोटरी क्लब अफ सेन्ट्रल बाँकेले रसुवा विपद् प्रभावित नागरिकका लागि रु. १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
जाजरकोटमा गरिएको रु. २ लाख ५९ हजार १७५ बराबरको सहयोग र रसुवाका लागि गरिएको रु. १ लाखको प्रतिबद्धताले विपद्का समयमा मानवीय सेवामा क्लबको सक्रियतालाई थप विस्तार गरेको छ।
क्लबले विपद् प्रभावित समुदायको आवश्यकता र परिस्थितिअनुसार आगामी दिनमा समेत राहत तथा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।






