Surakshya Rastriya Dainik
सोमबार, १४ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

विरङ्गना योगी शाही , कोहलपुर । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत बी.एड. दोस्रो सेमेस्टरका विद्यार्थीलाई लक्षित गर्दै तयार पारिएको ‘शिक्षामा सिकाइका सिद्धान्तहरू (Learning Theories in Education)’ पुस्तक बजारमा आएको छ।

मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक, लेखक तथा अनुसन्धानकर्ता एकराज शर्माको उक्त पुस्तक बी.एड. दोस्रो सेमेस्टरको अनिवार्य विषयलाई केन्द्रमा राखेर तयार पारिएको हो। पुस्तक शिक्षाशास्त्र अध्ययन गर्ने विद्यार्थीका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

शर्माले विभिन्न विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका लागि तीन दर्जनभन्दा बढी पुस्तक लेखन गरिसकेको बताइएको छ। शिक्षाशास्त्र, शिक्षा, अनुसन्धान तथा विभिन्न शैक्षिक विषयवस्तुमा निरन्तर लेखन गर्दै आएका शर्माले पछिल्लो पटक मध्यपश्चिम विश्वविद्यालयको स्नातक तहअन्तर्गत बी.एड. दोस्रो सेमेस्टरको अनिवार्य विषयका रूपमा रहेको ‘शिक्षामा सिकाइका सिद्धान्तहरू’ पुस्तक प्रकाशन गरेका हुन्।

शैक्षिक लेखनमा सक्रिय शर्माले विभिन्न स्थानीय तहका स्थानीय पाठ्यक्रम निर्माण तथा स्थानीय पाठ्यपुस्तक लेखनमा समेत योगदान पुर्‍याएका छन्। शिक्षा र अनुसन्धानसँगै लेखन, अध्ययन तथा अनुसन्धानलाई उनले आफ्नो पेशागत यात्राको महत्वपूर्ण आधार बनाउँदै आएका छन्।

शर्मा कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष समेत हुन्। पुस्तकालय तथा स्रोत केन्द्रमार्फत पठन संस्कृति, शैक्षिक जागरण तथा सामाजिक क्षेत्रमा समेत उनको सक्रियता रहँदै आएको छ।

लेखनसँगै पत्रकारितामा समेत सक्रिय शर्माले करिब आधा दर्जन जर्नल, स्मारिका तथा बुलेटिनका प्रधानसम्पादकका रूपमा काम गरिसकेका छन्। उनी विगत पाँच वर्षदेखि कोहलपुर टुडे डटकमका सम्पादक का रूपमा समेत कार्यरत छन्। शिक्षा, समाज, संस्कृति, धर्म तथा कोहलपुरको समग्र विकासका विषयमा उनले निरन्तर कलम चलाउँदै आएका छन्।

शर्माको प्राध्यापन यात्रा पनि लामो रहेको छ। उनले राम जानकी माध्यमिक विद्यालय कोहलपुर, राम जानकी विद्यानिकेतन कोहलपुर (हाल जनज्योति पब्लिक स्कुल), दीपज्योति विद्याश्रम माध्यमिक विद्यालय कोहलपुर–१२, ज्ञानज्योति माध्यमिक विद्यालय कोहलपुर–१२ हुँदै मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्जमा समेत अध्यापन गरेका थिए।

हाल उनी मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा उपप्राध्यापक का रूपमा प्राध्यापनरत छन्। प्राध्यापनसँगै पुस्तक लेखन, अनुसन्धान, पत्रकारिता, सामाजिक सेवा तथा विभिन्न शैक्षिक गतिविधिमा उनको निरन्तर सक्रियता रहँदै आएको छ।

नेपाली साहित्यमा समेत कलम चलाउँदै आएका शर्माले आगामी दिनमा साहित्यिक कृति प्रकाशन गर्ने तयारी गरिरहेको उनीनिकट स्रोतले जनाएको छ।

रुकुमदेखि बाँकेसम्म शैक्षिक तथा लेखकीय गतिविधिमा परिचित शर्माले शिक्षा, अनुसन्धान, पत्रकारिता तथा सामाजिक सेवामार्फत आफ्नो बहुआयामिक पहिचान बनाएका छन्। उनको पछिल्लो पुस्तक ‘शिक्षामा सिकाइका सिद्धान्तहरू’ निरन्तर शैक्षिक लेखन यात्राको अर्को महत्वपूर्ण कडीका रूपमा आएको छ।

उक्त पुस्तक दाजुभाइ प्रकाशक तथा वितरक प्रा.लि., उग्रतारा, जनागाल, काभ्रेपलाञ्चोक बाट प्रकाशित भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech