कोहलपुर, बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गणको प्राविधिक सहयोगमा एकदिने अग्नि नियन्त्रण तथा सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
अस्पताल परिसरमा आयोजित कार्यक्रममा आगलागी हुन सक्ने सम्भावित अवस्था, आगो नियन्त्रण गर्ने आधारभूत प्रक्रिया, आगलागीका कारण तथा नियन्त्रणका उपायबारे व्यावहारिक प्रदर्शनसहित जानकारी दिइएको थियो। विशेषगरी विद्युतीय आगलागी नियन्त्रण, अग्नि नियन्त्रणका उपकरणको सही प्रयोग तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीलाई सचेत गराइएको थियो।
कार्यक्रममा अस्पतालका विभिन्न विभागका इन्चार्ज, प्रशासनिक कर्मचारी तथा सम्बन्धित कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्राविधिक टोलीले आगलागीको समयमा अपनाउनुपर्ने प्राथमिक सावधानीदेखि आगो नियन्त्रण गर्ने व्यावहारिक विधिसमेत प्रदर्शन गरेको थियो।
कार्यक्रमको महत्व, आवश्यकता तथा अस्पतालमा भविष्यमाआउन सक्ने सम्भावित आगलागीजन्य जोखिम न्यूनीकरणका उपायबारे अस्पतालका सूचना अधिकारी एवं जनसम्पर्क अधिकृत रामकृष्ण हमालले प्रकाश पार्नुभएको थियो।
हमालले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आगलागी तथा अन्य आपत्कालीन घटना जुनसुकै बेला हुन सक्ने भएकाले पूर्वतयारी, नियमित अभ्यास र कर्मचारीमा आवश्यक ज्ञान तथा सीप हुनु अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रमले अस्पतालमा कार्यरत कर्मचारीलाई सम्भावित आगलागीको जोखिमप्रति थप सचेत बनाउँदै आपत्कालीन अवस्थामा सुरक्षित र प्रभावकारी ढंगले जोखिम नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।







