कोहलपुर । Gen-Z सहिद दिवस तथा विद्रोह भएको एक वर्ष पूरा भएको सन्दर्भमा Gen-Z विद्रोहका महान् सहिदहरूको सम्मानमा कोहलपुर चौराहामा दीप प्रज्वलन गरिएको छ।
कार्यक्रममा विद्रोहका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै, यही भदौ १० गते रसुवामा आएको बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूको सम्झनामा समेत दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ।


दीप प्रज्वलनसँगै सहभागीहरूले Gen-Z विद्रोहका माग, सहिदहरूले देखेका सपना तथा उनीहरूको अमूल्य बलिदानलाई खेर जान नदिने दृढ प्रतिबद्धता व्यक्त गरेका थिए।

सहिदहरूले देखाएको बाटो र उनीहरूको बलिदानबाट जन्मिएको आशालाई न्यायपूर्ण, समृद्ध र उत्तरदायी समाज निर्माणको यात्रामा निरन्तर अघि बढाउने प्रणसमेत सहभागीहरूले गरेका छन्।
कार्यक्रममा सहभागीहरूले सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै रसुवा बाढीमा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।





