काठमाडौं । भोटेकोशी बाढीमा परी कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीका कर्मचारीका परिवारले विभिन्न कोष, बीमा तथा संगठनबाट गरी २५ लाख १० हजार रुपैयाँसम्म राहत तथा सुविधा पाउने भएका छन् ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रतिबद्धताअनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई नियमानुसार उपलब्ध हुने राहत तथा बीमा सुविधाको प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ ।


नेपाल प्रहरीका अनुसार कल्याण कोषबाट ३ लाख रुपैयाँ राहत र ४० हजार रुपैयाँ किरिया खर्च उपलब्ध हुनेछ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकबाट ५ लाख रुपैयाँ दुर्घटना बीमा तथा राष्ट्रिय बीमा संस्थानबाट २ लाख रुपैयाँ सावधिक जीवन बीमाबापतको रकम प्राप्त हुनेछ ।
त्यसैगरी, नेपाल प्रहरी संगठनबाट विशेष राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराइनेछ । कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्तिबापत २ लाख रुपैयाँ र किरिया खर्चबापत ४० हजार रुपैयाँ उपलब्ध हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
नागरिक लगानी कोषका स्वैच्छिक बचतकर्ताले प्रचलित सर्तअनुसार २ लाख रुपैयाँ दुर्घटना बीमा तथा ३० हजार रुपैयाँ किरिया खर्च प्राप्त गर्नेछन् ।
यसरी विभिन्न कोष, बीमा तथा राहत सुविधासहित मृतक प्रहरी कर्मचारीका निकटतम हकवाला परिवारले कुल २५ लाख १० हजार रुपैयाँसम्म प्राप्त गर्ने नेपाल प्रहरीले जनाएको छ ।
परिवारको जीविकोपार्जन र छोराछोरीको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता
आईजीपी दानबहादुर कार्कीले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले प्रभावित प्रहरी परिवारको जीविकोपार्जनमा सहयोग गर्नुका साथै मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षाका लागि आवश्यक व्यवस्था मिलाउने बताएका छन् ।
यस्तै, नेपाल प्रहरी कल्याण कोषबाट लिइएका ऋणका सम्बन्धमा आवश्यकताअनुसार सहुलियत तथा मिनाहाको व्यवस्था गरिने प्रतिबद्धता पनि आईजीपी कार्कीले व्यक्त गरेका छन् ।
नेपाल प्रहरीले मृतक प्रहरी कर्मचारीका निकटतम हकवाला परिवारलाई उल्लेखित सुविधा नियमानुसार शीघ्र उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।





