रुपन्देही। रुपन्देहीको भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मार्दा ६ जना पक्राउ परेका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङको विशेष टोलीले क्यासिनोमा छापा मारेर जुवा खेलिरहेका पाँच जना नेपाली नागरिकसहित क्यासिनोका पिट म्यानेजरलाई पक्राउ गरेको हो।


लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भुपेन्द्रबहादुर खत्रीको निर्देशनमा परिचालित विशेष टोलीले उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा क्यासिनोका पिट म्यानेजर भारतीय नागरिक २५ वर्षीय पारस भाटिया रहेका छन्। उनको स्थायी ठेगाना भारतको हरियाणा प्रदेशस्थित फरिदावाद रहेको प्रहरीले जनाएको छ।
यस्तै, जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्ने नेपाली नागरिकहरूमा म्याग्दीको बेनी नगरपालिका–७, बेनी बजारका ४८ वर्षीय नारायण घर्ती, कास्कीको पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन केसी र पोखरा महानगरपालिका–१७, बिरौटाका ३९ वर्षीय सुदीप आचार्य रहेका छन्।
त्यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडका ४६ वर्षीय रामु श्रेष्ठ र बुटवल उपमहानगरपालिका–३, सीमानगरका ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएर घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।





