काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका एक एसपीलाई हनिट्रयापमा फसाएर रकम असुलेको आरोपमा पक्राउ परेकी कुसुम गुभाजू गुरुङलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।
अदालतले बुधबार गुरुङलाई आपराधिक लाभ तथा साइबर अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रकाश आचार्यको जाहेरीका आधारमा उनी गत महिना पक्राउ परेकी थिइन्।


प्रहरीले अनुसन्धान पूरा गरी गुरुङविरुद्ध आपराधिक लाभ र साइबर अपराधसम्बन्धी मुद्दा दायर गरेको थियो।
प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार आचार्य र गुरुङबीच करिब चार वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो। चिनजानपछि उनीहरू काठमाडौंको बालुवाटारस्थित एक क्याफेमा भेटघाट तथा कुराकानी गर्ने गरेको र पछि रात बिताउने गरी बाहिरसमेत जाने गरेको अनुसन्धानबाट खुलेको छ।
सुरुवाती चरणमा उनीहरूबीच सम्बन्ध सामान्य रहे पनि पछिल्लो समय आचार्यले आफूलाई वास्ता गर्न छाडेको भन्दै गुरुङले विगतमा भएका कुराकानीका स्क्रिनसट पठाएर धम्क्याउन थालेको आरोप छ।
उनले ती कुराकानी सार्वजनिक गरिदिने तथा बलात्कारसम्बन्धी मुद्दामा फसाइदिने भन्दै विभिन्न मोबाइल नम्बरबाट धम्की दिने गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ।
लफडामा पर्ने डरले आचार्यले गुरुङलाई पटक–पटक गरी २७ लाख रुपैयाँसम्म दिएको प्रहरीसमक्ष बयान दिएका छन्। तर, त्यसपछि पनि गुरुङले थप ५० लाख रुपैयाँ मागेपछि आफू हैरान भएको भन्दै आचार्यले प्रहरीमा उजुरी दिएका थिए।
आचार्यले गुरुङको बैंक खातामा रकम पठाएको विवरणसमेत प्रहरीलाई उपलब्ध गराएका थिए।
यता, गुरुङले भने आफूले २७ लाख रुपैयाँ लिएको स्वीकार गरे पनि उक्त रकममध्ये २० लाख रुपैयाँ राजीखुसीले दिइएको र बाँकी ७ लाख रुपैयाँ आफूहरू सँगै बस्ने क्रममा खर्च भएको बयान दिएकी छिन्।
गुरुङका श्रीमान् पनि सुरक्षाकर्मी रहेको खुलेको छ। उनीहरूबीच विवाद भएपछि गत ७ साउनमा कालिमाटी प्रहरी वृत्तमा मिलापत्रसमेत भएको थियो। तर, त्यसपछि पनि विवाद बढ्दै गएपछि घटना अदालतसम्म पुगेको प्रहरीले जनाएको छ।
अदालतको आदेशसँगै गुरुङ मुद्दाको अन्तिम फैसला नआएसम्म पुर्पक्षका लागि कारागारमा रहनेछिन्।





