काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि छानबिन नगरिए आफूले नेल लगाएर अनशन बस्ने घोषणा गरेका छन् ।संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद सुनारले सो घोषणा गरेका हुन् । उनले आईजीपी कार्कीमाथि लागेको भ्रष्टाचारको आरोप छानबिनको माग गरे ।
उनले आफूले सबै प्रमाणसमेत संकलन गरेको दाबी गरे । उनले आईजीपीलाई बर्खास्त गरेर कारबाही गर्न माग गरे । उनले भने, सरकार गम्भीर भएन भने म फेरि नेल लगाएर कहाँ अनशन बस्नु पर्ने कहाँ ? जहाँ पनि अनशनमा बस्न तयार छु । आईजीपीलाई बर्खास्त गर्नु पर्यो ।’


उनले आफूले उठाएको विषयमा राज्य गम्भीर नभए कडा कदम चाल्न बाध्य हुने बताए । उनी संसदमासमेत आईजीपी कार्कीमाथि खरो रुपमा प्रस्तुत हुने गरेका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि सांसद सुनारले प्रहरीको बन्दोबस्तीका सामग्री (मोजा, जुत्ता र कपडा) खरिदमा करोडौँको भ्रष्टाचार भएको विषय सार्वजनिक लेखा समिति लगायतका निकायमा पुग्दा पनि सरकारले कुनै चासो नदेखाएको आरोप लगाएका थिए । सांसद सुनारले सरकारको काम गर्ने शैलीमाथि प्रश्न उठाउँदै भने, ‘सामान्य आरोप लाग्दा अन्य मन्त्रीहरू बर्खास्तीमा पर्छन्, तर प्रहरी महानिरीक्षकमाथि करोडौँको भ्रष्टाचारको आरोप लाग्दा पनि उहाँ पदमै हुनुहुन्छ। यो कस्तो खालको न्याय हो ?’ उनले मन्त्री र प्रहरी प्रमुखका लागि छुट्टाछुट्टै मापदण्ड नहुने बताउँदै सो घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गरे ।





