काठमाडौं । सामाजिक सञ्जालमार्फत सुरक्षा निकाय तथा राष्ट्रसेवकविरुद्ध घृणा–द्वेष फैलाउने तथा सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री प्रकाशन तथा प्रसारण गरेको आरोपमा काठमाडौंमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२, सेयनी बार्कु घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८, बानियाटार बस्दै आएका २७ वर्षीय जनक परियार रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परियारलाई काठमाडौं महानगरपालिका–३१, अनामनगरबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार विपद्को अति संवेदनशील समयमा खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूका विषयमा परियारले सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन तथा प्रसारण गरेका थिए।
यस्ता सामग्रीमार्फत नागरिक र सुरक्षा निकायबीचको सुमधुर सम्बन्धमा खलल पुर्याउने कार्य गरेको आरोप प्रहरीले लगाएको छ।
परियारविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।







