दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले आफूलाई जोडेर अनलाइनमा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा भदौ २८ गते ‘स्कुप खबर’ नामक अनलाइनमा “आइजीपीविरुद्ध निरन्तर प्रहार, कतै खगेन्द्र सुनार परिचालित त छैनन् ?” शीर्षकमा प्रकाशित समाचारमा आफ्नो नामसमेत जोडेर पूर्णतः तथ्यहीन, भ्रामक, मनगढन्ते र अनर्गल आरोप लगाइएको उल्लेख छ।
खत्रीले उक्त समाचारले आफ्नो व्यावसायिक इमानदारी, पेसागत निष्ठा र कार्यकुशलतामाथि प्रश्न उठाउने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन्। संगठनको हितका लागि आफूले निर्वाह गर्दै आएको पेसागत जिम्मेवारी र पारदर्शी कार्यशैलीलाई केही व्यक्ति तथा प्रवृत्तिले कपोलकल्पित र मनगढन्ते ढंगले प्रस्तुत गरेको उनको भनाइ छ।
प्रेस विज्ञप्तिमार्फत खत्रीले आफूविरुद्ध प्रकाशित सामग्रीलाई विश्वास नगर्न पाठक तथा सर्वसाधारणसँग आग्रह गरेका छन्। साथै समाचारमा उल्लेखित विषयवस्तुका सम्बन्धमा आवश्यक कानुनी उपचारको प्रक्रियामा जाने जानकारी समेत गराइएको छ।
प्रहरी अधिकारीमाथि गम्भीर आरोप लगाइएका समाचारमा तथ्य, स्रोत र प्रमाणको विश्वसनीयता आवश्यक हुने भन्दै पछिल्लो घटनाले जिम्मेवार पत्रकारिता र प्रमाणमा आधारित समाचार सम्प्रेषणको आवश्यकतामाथि समेत प्रश्न उठाएको छ।







