काठमाडौं । निर्वाचन प्रहरीका लागि कपडा खरिदमा उठेको अनियमितताको प्रश्न अध्ययन गर्न संसद्को सार्वजनिक लेखा समितिले ९ सदस्यीय अध्ययन समिति गठन गरेको छ।
शुक्रबार बसेको समितिको बैठकले रास्वपा सांसद मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। समितिका सदस्यमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहेका छन्।
समितिले सम्बन्धित कागजात, प्रतिवेदन तथा बैठकमा उठेका प्रश्नहरूको अध्ययन गरी दुई महिनाभित्र प्रतिवेदन सार्वजनिक लेखा समितिमा बुझाउनेछ।
कपडा खरिदमा अनियमितताको प्रश्न उठेपछि छानबिनको विषयमा सांसदहरूबीच मतभेद भए पनि अन्ततः निष्पक्ष अध्ययनका लागि समिति गठन गर्ने सहमति भएको हो।








