२०८२ काठमाडौं, ०१ साउन।
सामाजिक अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीको “स्वतन्त्र” भन्ने शब्द र चुनाव चिन्ह “घण्टी” खारेजीको माग गर्दै निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता गरेका छन्।
उनले आयोगले आफ्नो मागलाई सम्बोधन नगरेमा सर्वोच्च अदालतको शरण लिने चेतावनी समेत दिएका छन्। सफलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “यदि आयोगले खारेज गर्दैन भने, सम्मानित सर्वोच्च अदालतमा गएर भए पनि खारेज गराउँछु।”


उनको यो कदमप्रति केही व्यक्तिहरूले रुख र सूर्य चिन्हहरू विरुद्ध उजुरी हाल्न नहुने टिप्पणी गरेका छन्। त्यसप्रति जवाफ दिँदै सफल भन्छन्, “अब ती चिन्हहरू विरुद्ध अरूले हाल्दा भएन त? तिमीहरू लेख्ने हात मैले बाँधेको छु र? तिमीहरूको बोल्ने मुख थुनेको छु र?”
सफलका अनुसार कुनै पनि पार्टी वा चिन्हप्रति स्वतन्त्र रूपमा आलोचना गर्ने वा कानुनी प्रक्रिया थाल्ने अधिकार सबै नागरिकलाई संविधानले दिएको छ। उनले ‘स्वतन्त्र’ शब्द र ‘घण्टी’ चिन्हले आम नागरिकमा भ्रम सिर्जना गर्ने र मतदाताको स्वतन्त्र निर्णयमा प्रभाव पार्ने दाबी गर्दै उजुरी दर्ता गरेका हुन्। 





