काठमाडौं । हराएको सिमकार्ड प्रयोग गरी मोबाइल बैंकिङ सेवामार्फत २४ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट सिन्धुली फिक्कल गाउँपालिका–४ घर भई हाल भक्तपुरको सिर्जनानगर बस्ने २६ वर्षीय रोशन पहाडी तथा डडेल्धुरा अमरगढी नगरपालिका–८ घर भई हाल ललितपुरको कुपण्डोल बस्ने २५ वर्षीय सुभाष ओझालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पहाडीलाई भक्तपुरको सल्लाघारीबाट र ओझालाई ललितपुरको एकान्तकुनाबाट नियन्त्रणमा लिइएको हो।
अनुसन्धानबाट पीडित कान्छी लामाको नाममा वि.सं. २०७० मा जारी भएको सिमकार्ड हराएपछि उक्त नम्बर पुनः सक्रिय भई दुरुपयोग भएको खुलेको छ। सो नम्बर वि.सं. २०७८ मा रोशन पहाडीको नाममा पुनः जारी भएको र त्यसपछि बैंक खातासम्बन्धी सन्देशहरू उनको मोबाइलमा आउन थालेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहाडी र ओझाले मिलेर सोही नम्बर प्रयोग गर्दै कुमारी बैंकको मोबाइल बैंकिङ प्रणालीमार्फत विभिन्न व्यक्तिलाई झुक्यानमा पारेर ईसेवा, खल्ती तथा अन्य बैंक खातामा रकम ट्रान्सफर गराउने र पछि नगद झिक्ने कार्य गर्दै आएका थिए।
अनुसन्धानका क्रममा उनीहरूले वि.सं. २०८० असारदेखि २०८२ असोजसम्मको अवधिमा कुल २४ लाख ४७ हजार ५२८ रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।
पीडितको जाहेरीका आधारमा पक्राउ गरिएका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।







