ट्रेण्डिङ

ताजा अपडेट

 

नेपालगञ्ज, बाँके । बाँके जिल्लाभित्र लुकेर रहेका प्रतिभाशाली कलाकारहरूको खोजी तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित बाल जागरण ग्रुप, कोहलपुर–बाँकेद्वारा आयोजित “बाँके ट्यालेन्ट शो सिजन–३” को अडिसन यात्रा नेपालगञ्जबाट औपचारिक रूपमा सुरु गरिएको छ। जिल्लाका आठवटै स्थानीय तहलाई समेटेर सञ्चालन गरिने प्रतियोगिताको पहिलो अडिसन चरणअन्तर्गत आज नेपालगञ्जमा नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका प्रतियोगीहरूको अडिसन सम्पन्न गरिएको हो।

डान्स र मोडलिङ विधामा केन्द्रित प्रतियोगितामा सहभागीहरू उत्साहपूर्वक उपस्थित भएका थिए। अडिसन दिन आएका प्रतियोगीहरूले सुरुमै चिठ्ठा तानेर आफ्नो प्रस्तुति क्रम निर्धारण गरेका थिए। त्यसपछि उनीहरू पालैपालो मञ्चमा उपस्थित भई निर्णायकमण्डलसमक्ष आफ्नो कला प्रस्तुत गरेका थिए। अडिसन स्थलमा सहभागीहरू मात्रै होइन, आफ्ना छोराछोरी र नानीबाबुहरूको प्रतिभा देख्न तथा हौसला प्रदान गर्न आएका अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

कतिपय अभिभावकहरूले आफ्ना सन्तानको सपना नै डान्स र मोडलिङ क्षेत्रमा भविष्य बनाउने रहेको बताएका थिए। सहभागीहरू पनि यस्ता प्रतियोगिताले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिएको भन्दै उत्साहित देखिएका थिए। उनीहरूले जिल्लामै यति ठूलो स्तरको प्रतिभा खोज कार्यक्रम सञ्चालन हुनु सकारात्मक पक्ष भएको प्रतिक्रिया दिएका छन्।

आयोजकका अनुसार आज सम्पन्न अडिसनमा ४० जना प्रतियोगी सहभागी भएकोमा २४ जना दोस्रो चरणका लागि छनोट भएका छन्। छनोट भएका प्रतियोगीहरूलाई आगामी चरणमा कोरियोग्राफी तथा विशेष प्रशिक्षण प्रदान गरिनेछ। त्यसपछि प्रतियोगिता भोटिङ राउन्ड, सेमिफाइनल तथा फाइनल हुँदै अन्तिम प्रतिस्पर्धासम्म पुग्नेछ।

बाल जागरण ग्रुपका संस्थापक तथा अध्यक्ष नरेश रावल ले बाँकेका विभिन्न गाउँपालिका र नगरपालिकामा पुगेर स्थानीय प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार नेपालगञ्जबाट सुरु भएको अडिसन अभियान अब बाँकेका अन्य स्थानीय तहहरूमा पनि आयोजकको कार्यतालिकाअनुसार सञ्चालन गरिनेछ। आठवटै पालिकाबाट छनोट भएका प्रतिभाहरूलाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ।

उनले बाँकेमा डान्स, मोडलिङ तथा अन्य सिर्जनात्मक क्षेत्रमा अत्यन्त सम्भावना बोकेका युवायुवती रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले उनीहरूलाई अवसर, आत्मविश्वास र पहिचान दिलाउने विश्वास व्यक्त गरे। स्थानीय स्तरबाट पहिचान भएका प्रतिभाहरूलाई भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने लक्ष्य पनि आयोजकको रहेको उनले बताए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई प्रथम, द्वितीय तथा तृतीय पुरस्कारसहित विभिन्न आकर्षक पुरस्कार प्रदान गरिनेछ। साथै भोटिङ राउन्डमार्फत दर्शकहरूको सहभागिता पनि सुनिश्चित गरिने भएकाले प्रतियोगिता थप रोचक बन्ने अपेक्षा गरिएको छ।

नेपालगञ्जबाट सुरु भएको “बाँके ट्यालेन्ट शो सिजन–३” ले जिल्लाका विभिन्न कुनाकाप्चामा रहेका प्रतिभालाई उजागर गर्ने विश्वास गरिएको छ। कला र सिर्जनाको क्षेत्रमा भविष्य बनाउन चाहने युवापुस्ताका लागि यो प्रतियोगिता महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। जिल्लाभरका प्रतिभालाई एउटै मञ्चमा उभ्याउने यस अभियानले आगामी दिनमा बाँकेलाई प्रतिभाशाली कलाकार उत्पादन गर्ने जिल्लाका रूपमा थप स्थापित गर्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech