मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोक क्षेत्रबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चेकजाँचका क्रममा केशव श्रेष्ठले मलद्वारमा लुकाएर राखेको अवस्थामा प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम तथा प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको छ।
त्यसैगरी, निश्चल गुरुङको साथबाट पनि मलद्वारमा लुकाइएको अवस्थामा प्लास्टिकसहित ११ ग्राम तथा प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








