Wednesday, October 28, 2026

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आधुनिक सूचना प्रविधिको सदुपयोग गर्दै समुदायलाई सचेत गराउन र शान्ति सुरक्षा, अमन चयन कायम गर्न तीनदिने विशेष कार्यक्रम सार्वजनिक गरेको छ। सो कार्यक्रमबारे जानकारी दिन शनिबार पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम आयोजना गरिएको थियो।

सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रविधि, शान्ति र सामुदायिक सचेतनालाई एकै सूत्रमा बाँधेर कार्ययोजना अघि सारेको बताउनु भएको थियो । उहाले भन्नुभयो, “सार्वजनिक सुरक्षाका चुनौतीसँग जुध्न आधुनिक सूचना प्रविधिको सदुपयोग हुन आवश्यक छ।”

कार्यक्रमअन्तर्गत बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा ‘ह्याक फर सेफ्टी’ कार्यक्रम, अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सामुदायिक जागरूकता कार्यक्रम, तथा बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा सञ्चालन हुनेछ।

प्रहरी नायब महानिरीक्षक खत्रीले ‘ह्याक फर सेफ्टी’ मार्फत युवा, विद्यार्थी, डेभलपर तथा नवप्रवर्तनकर्तालाई साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग तथा प्रहरी सेवासम्बन्धी समस्या समाधानका लागि नवीन उपाय विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको हो।

त्यस्तै, लुम्बिनीमा हुने शान्ति पदयात्राबाट शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गरिनेछ। उक्त पदयात्रामा विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय तथा विभिन्न सङ्घसंस्थाको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुने सामुदायिक जागरूकता कार्यक्रममा साइबर अपराध, लागुऔषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा तथा सामाजिक विकृतिविरुद्ध सचेतना अभिवृद्धि गरिनेछ।

त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले यही जेठ ३० गते सुरु भई असार १ गते सम्पन्न हुने तीनदिने विशेष अभियानमा व्यापक जनसहभागिता रहने र यसले प्रदेशको शान्ति सुव्यवस्था कायम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर