काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुङ्गल निवासी ६१ वर्षीय प्रधुमन श्रेष्ठ रहेका छन्।
पीडित महिलाले दिएको उजुरीका आधारमा नेपाल प्रहरी साइबर ब्यूरो बाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो। आरोप अनुसार उनले फेसबुकमा पीडित महिलाको तस्वीरमा अपशब्द तथा नकारात्मक टिप्पणी गर्दै चरित्र हत्या गर्ने गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।
श्रेष्ठविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यस सम्बन्धमा जिल्ला अदालत काठमाडौं बाट ४ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







