काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) कोटेश्वरले फार्महाउसको आवरणमा सञ्चालन हुँदै आएको संगठित लागूऔषध कारोबारको सञ्जाल भत्काउँदै १३ जनालाई पक्राउ गरेको छ। प्रहरीले भारतबाट लागूऔषध भित्र्याएर काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वितरण गर्दै आएको नेटवर्कसमेत उजागर गरेको जनाएको छ।
ब्युरोका प्रवक्ता दुर्गा राज रेग्मी का अनुसार काठमाडौंको टोखा र चन्द्रागिरि क्षेत्रमा सञ्चालित केही फार्महाउसलाई गिरोहले सुरक्षित भण्डारणस्थलका रूपमा प्रयोग गर्दै आएको पाइएको छ। प्रारम्भिक अनुसन्धानबाट फार्महाउस परिसरभित्र जमिन खनेर खाल्डो बनाई लागूऔषध लुकाउने, आवश्यकताअनुसार निकालेर वितरण गर्ने तथा साना समूहमार्फत आपूर्ति गर्ने गरिएको खुलेको छ।
विशेष अपरेसनमा १३ जना पक्राउ
ब्युरोले जेठ २१ देखि २३ गतेसम्म सञ्चालन गरेको विशेष अपरेसनका क्रममा विभिन्न जिल्लाका १३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरू नुवाकोट, रुपन्देही, भक्तपुर, सिन्धुली, कालिकोट, बाजुरा, बारा र काठमाडौंका १९ देखि ५० वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको गतिविधिमाथि लामो समयदेखि निगरानी राखिएको थियो। सोही आधारमा योजनाबद्ध कारबाही गर्दा गिरोहको संरचना तथा वितरण सञ्जालसमेत खुल्न सफल भएको हो।
ठूलो परिमाणमा लागूऔषध र नगद बरामद
कारबाहीका क्रममा प्रहरीले ठूलो परिमाणमा लागूऔषध तथा नगद बरामद गरेको जनाएको छ। बरामद सामग्रीमा:
२ लाख ९ हजार ट्रामाडोल क्याप्सुल
बुप्रेनोर्फिन, डाइजेपाम र फेनार्गन गरी २ हजार ४ सय एम्पुल
नगद ७ लाख ७७ हजार ५ सय रुपैयाँ
विभिन्न कम्पनीका २८ थान मोबाइल फोन
बरामद मोबाइल र नगद लागूऔषध कारोबार तथा वितरण प्रणालीमा प्रयोग भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
थप अनुसन्धान जारी
लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ परेकाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ। गिरोहको मुख्य स्रोत, भारततर्फको आपूर्ति च्यानल, आर्थिक कारोबार तथा अन्य संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्य जारी रहेको ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार फार्महाउस, एकान्त क्षेत्र तथा कम निगरानी हुने स्थानलाई प्रयोग गरी सञ्चालन हुने लागूऔषध कारोबार नियन्त्रण गर्न विशेष रणनीति लागू गरिएको छ।
यसैबीच, ब्युरो प्रमुख सुवास बोहरा को नेतृत्वमा सूचना संकलन, प्राविधिक निगरानी तथा योजनाबद्ध अपरेसनलाई प्राथमिकता दिइएको र त्यसकै परिणामस्वरूप पछिल्ला दिनमा संगठित लागूऔषध गिरोहमाथि प्रभावकारी कारबाही हुन थालेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले आगामी दिनमा यस्ता उच्च जोखिमयुक्त स्थानमा निगरानी थप कडा बनाउने तथा लागूऔषध कारोबारमा संलग्न सञ्जालविरुद्ध निरन्तर कारबाही जारी राख्ने जनाएको छ।







