वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित ड्राइपोर्ट–परवानीपुर सडकखण्डबाट प्रहरीले १०९ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय श्रीपुर र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.१९ च ५७३८ नम्बरको बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार गाडीको पछाडिको भागमा त्रिपालले छोपी प्लास्टिकमा बेरिएका आठ वटा पोकाभित्र लुकाइराखिएको १०९ किलो गाँजा फेला परेको थियो। बरामद भएको गाँजासहित बोलेरो पिकअप गाडी नियन्त्रणमा लिइएको छ।
घटनामा संलग्न रहेको आरोपमा बोलेरो चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ निवासी ३० वर्षीय सुभाष थामी र सोही गाडीमा सवार २८ वर्षीय छत्रबहादुर थामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।







