काठमाडौं । औषधि व्यवस्था विभागले तोकिएको समयभित्र नवीकरण नगरेका देशभरका ५ हजार ३०२ औषधि पसलको सञ्चालन प्रमाणपत्र स्वतः रद्द भएको जनाएको छ।
विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कानुनले तोकेको अवधिभित्र अनुज्ञापत्र, सिफारिसपत्र तथा सम्बन्धित प्रमाणपत्र नवीकरण नगरेका औषधि पसलहरूको प्रमाणपत्र स्वतः रद्द भएको स्पष्ट पारेको हो।
विभागका अनुसार नवीकरण म्याद समाप्त भइसकेपछि आवश्यक प्रक्रिया पूरा नगरेका व्यवसायहरू अब कानुनी रूपमा औषधि बिक्री–वितरण गर्न अयोग्य भएका छन्।
सूचनामार्फत विभागले सम्बन्धित औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक कानुनी प्रक्रिया पूरा गर्न तथा भविष्यमा औषधि बिक्री–वितरण गर्दा प्रचलित कानुन र विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ।
विभागले २८ जेठ २०८३ सम्म नवीकरण नगरी म्याद समाप्त भएका तथा स्वतः रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत सार्वजनिक गरेको जनाएको छ।
औषधि व्यवसायलाई व्यवस्थित, सुरक्षित र कानुनसम्मत बनाउन यस्तो कदम चालिएको विभागको भनाइ छ।https://dda.gov.np/content/236/notice-regarding-dereg-of-certificates-2083-03-02/?fbclid=IwZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQPMjc1MjU0NjkyNTk4Mjc5AAEeQD2T8UnKYV9ANR8agLf1IfGFATVghtQS9e6eXBqr0GOehNR3Z5RS4QJtSmk_aem_pcGTWB08sHLQ2Sqejc20rg#flipbook-flipbookContainer/1/







