कोहलपुर । मध्यपश्चिम विश्वविद्यालय को १६औँ वार्षिकोत्सवको अवसरमा वागेश्वरी बहुमुखी क्याम्पस ले क्याम्पस परिसरमा १६ वटा बिरुवा रोपेर वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवका अवसरमा विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै आयोजित वृक्षरोपण कार्यक्रममा क्याम्पसका प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
विश्वविद्यालयको वार्षिकोत्सवलाई औपचारिक समारोहमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले १६औँ वार्षिकोत्सवको प्रतीकस्वरूप १६ वटा बिरुवा रोपिएको जनाइएको छ।
क्याम्पस प्रशासनले रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा विशेष ध्यान दिइने जनाएको छ। साथै, आगामी दिनमा पनि वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने क्याम्पसले जनाएको छ।







