सप्तरी । सप्तरीको नेपाल–भारत सीमा क्षेत्रमा तस्कर समूहको आक्रमणबाट नेपाल प्रहरीका एक असई कुटिएका छन्।
जिल्लाको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित दशगजा क्षेत्र नजिक आज बिहान करिब ४ बजे कपडा तस्करीमा संलग्न समूहले प्रहरी टोलीमाथि आक्रमण गरेको हो।
प्राप्त जानकारीअनुसार सीमा स्तम्भ नम्बर २४३ नजिक तस्करी भइरहेको सूचनापछि रामनगर कोदरकट्टी प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको थियो। सोही क्रममा तस्कर समूहले प्रहरीमाथि हातपात गरेको बताइएको छ।
आक्रमणमा परी प्रहरी चौकीका इन्चार्ज असई रामकुमार यादव घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको स्रोतले जनाएको छ।
स्थानीयवासीका अनुसार तस्कर समूहले भारतीय नागरिकसमेत बोलाएर प्रहरीमाथि आक्रमण गरेको आरोप लगाइएको छ। यद्यपि यस विषयमा प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान भइरहेको जनाएको छ। साथै आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको पनि बताएको छ।







