काठमाडौं । नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुशीमा ३० जना प्रहरी कर्मचारीले विपद् व्यवस्थापन आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको तत्वावधानमा सञ्चालन भएको ३९औं समूह अन्तर्गतको उक्त तालिम ४५ कार्यदिनसम्म सञ्चालन गरिएको थियो। बिहीबार आयोजित समापन कार्यक्रममा केन्द्रका प्रहरी उपरीक्षक सन्तोष आचार्य ले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिम सफलतापूर्वक पूरा गरेकोमा बधाई दिएका थिए।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक गणेश बहादुर बराल ले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै वैशाख ३ गतेदेखि सञ्चालन भएको तालिममा प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी सहायक हवल्दार ३ जना तथा प्रहरी जवान २३ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए।
विपद्का समयमा प्रभावकारी उद्धार, खोज तथा व्यवस्थापन कार्यमा प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको नेपाल प्रहरीले जनाएको छ।







