इलाम । इलामको सूर्योदय नगरपालिका–११, तीनघरे बजारबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मे ८ प ७८६९ नम्बरको मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–१ निवासी ३१ वर्षीय भुवन राय र मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३६ वर्षीय सञ्जु तामाङ रहेका छन्।
प्रहरीले विशेष चेकजाँचका क्रममा उनीहरूलाई रोकी खानतलासी गर्दा रेनकोटको झोलाभित्र कालो प्लास्टिकमा राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको थियो। बरामद पदार्थको तौल १६ ग्राम ८९० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि जिल्लाका विभिन्न क्षेत्रमा निगरानी र चेकजाँचलाई तीव्र बनाएको जनाएको छ।








