ट्रेण्डिङ

कोहलपुर, बाँके । नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरको सहकार्यमा लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठी सम्पन्न भएको छ।
कोहलपुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुदनकुमार पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले नेपाली संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। साथै आधुनिक प्रविधिको प्रयोगमार्फत प्राचीन संस्कृति संरक्षण र प्रचार–प्रसारलाई थप सशक्त बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।
सङ्गोष्ठीमा लुम्बिनी प्रदेशका थारू, कुसुन्डा, अवधी तथा मुस्लिम समुदायसँग सम्बन्धित सांस्कृतिक पक्षहरूबारे चार वटा कार्यपत्र प्रस्तुत गरिएको थियो।
महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. राजकुमार थारू ले ‘थारू जातिका धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा प्रकृति र पर्यावरणीय चेतना’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो। कार्यपत्रमाथि पूर्वमन्त्री तथा थारू संस्कृतिका अध्येता डा. गोपाल दहित ले टिप्पणी गर्दै थारू समुदायका सांस्कृतिक अभ्यासहरूमा प्रकृतिप्रतिको सम्मान र पर्यावरणीय चेतना स्पष्ट रूपमा अभिव्यक्त भएको उल्लेख गर्नुभयो।
त्यसैगरी अध्येता उदयराज आले ले ‘कुसुन्डाको परम्परागत संस्कृति’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो। उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत वागेश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. पुष्कर रिजाल ले कुसुन्डा समुदायको मौलिक संस्कृति लोपोन्मुख अवस्थामा पुगेको बताउनुभयो। उहाँले कुसुन्डा भाषाका मातृभाषी वक्ता एक जनामा सीमित हुनु गम्भीर चिन्ताको विषय भएको धारणा राख्नुभयो।
अवधी संस्कृतिका अध्येता जगतराम यादव ले ‘अवधी लोकसाहित्यमा लोकगाथा चनैनी’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभयो। कार्यपत्रमाथि टिप्पणी गर्दै लोकसंस्कृतिका अध्येता डा. गोविन्द आचार्य ले यसले अवधी लोकगाथाको अध्ययन र प्रचारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।
यस्तै, आरिफ खान द्वारा तयार गरिएको ‘मोहर्रम’ विषयक कार्यपत्रमाथि महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. हरिप्रसाद तिमिल्सिना ले टिप्पणी गर्दै मुस्लिम संस्कृतिका केही पक्ष अझै समेटिन बाँकी रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालगञ्ज उर्दू साहित्य तथा संस्कृतिको महत्वपूर्ण केन्द्रका रूपमा परिचित रहेको बताउनुभयो।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव रेगबहादुर वली, साहित्यकार प्रा. डा. कृष्णप्रसाद घिमिरे, सनत रेग्मी, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारी तथा कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
सङ्गोष्ठीमा कोहलपुरका पूर्वमेयर लुटबहादुर रावत सहित विभिन्न साहित्यिक, सांस्कृतिक तथा शैक्षिक संस्थाका प्रतिनिधि, साहित्यकार, सञ्चारकर्मी र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक डा. टीकाराम उदासी को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष डा. खोपीराम वली क्षेत्री ले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech