कोहलपुर । कोहलपुर–११ स्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण तथा शपथ ग्रहण गरेको छ। निर्वाचन समिति संयोजक अधिवक्ता ईश्वरीप्रसाद ज्ञवालीले अध्यक्ष एकराज शर्मासहित नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पुस्तकालयलाई स्थानीय सरकारसँग सहकार्य गर्दै आधुनिक आवश्यकताअनुसार अघि बढाउन आग्रह गरे। उनले पठन संस्कृतिको विकासमा चुनौती थपिँदै गएको उल्लेख गर्दै पुस्तकालयलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। पुस्तकालय २५ वर्ष पूरा गरेर युवा अवस्थामा प्रवेश गरेको भन्दै नयाँ कार्यसमितिले सहकार्य र समन्वयका साथ संस्थाको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
पदभार ग्रहणपछि अध्यक्ष एकराज शर्माले पुस्तकालयलाई ज्ञान, अनुसन्धान र सिकाइको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए। उनले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै पुस्तकालयको भौतिक तथा डिजिटल पूर्वाधार सुदृढ गर्ने, ई–लाइब्रेरी सेवा विस्तार गर्ने, बालबालिका तथा युवामैत्री कार्यक्रम सञ्चालन गर्ने र समुदायसँगको सम्बन्ध थप मजबुत बनाउने योजना सार्वजनिक गरे।
अध्यक्ष शर्माले विद्यालय, क्याम्पस, स्थानीय सरकार, सामाजिक संघसंस्था तथा निजी क्षेत्रसँग सहकार्य विस्तार गर्दै पुस्तकालयलाई बाँके जिल्लाकै नमूना सामुदायिक पुस्तकालयका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायको पुस्तकालय पहुँच सुनिश्चित गरिने उल्लेख गरे।
कार्यक्रममा निवर्तमान अध्यक्ष चेतकान्त भट्टराईले आफ्नो कार्यसमितिले थालेका कामलाई निरन्तरता दिन आग्रह गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा (एमाले) बाँकेका सचिव बलराम भट्टराई, कोहलपुर–१२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्व अध्यक्ष, सल्लाहकार, शिक्षाविद्, साहित्यकार, समाजसेवी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य विष्णु बेल्वासेले गरेका थिए।
६ महिनाभित्र डिजिटल पुस्तकालय बनाउने निर्णय
पदभार ग्रहणलगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले सात वटा प्रस्ताव पारित गरेको छ। बैठकले निर्वाचन प्रक्रियामा सहयोग पुर्याउने संस्थापक, आजीवन तथा साधारण सदस्य, स्थानीय सरकार, राजनीतिक दल, पुस्तकालयप्रेमी तथा शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेको छ।
बैठकले कार्यसमिति सदस्य लक्ष्मीकुमारी पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै चालु आर्थिक वर्ष २०८१/८२ को संस्थागत नवीकरण प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ।
बैठकको सबैभन्दा महत्वपूर्ण निर्णयस्वरूप आगामी ६ महिनाभित्र ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई पूर्ण रूपमा डिजिटल पुस्तकालयका रूपमा विकास गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको अध्यक्ष शर्माले जानकारी दिए।
नयाँ कार्यसमितिको यो निर्णयसँगै पुस्तकालयलाई आधुनिक सूचना प्रविधिसँग जोड्दै पाठकलाई डिजिटल माध्यमबाट सेवा प्रदान गर्ने अभियान सुरु भएको छ।







