सिरहा । सिरहा प्रहरीले गोली प्रहार गरी एक कुख्यात लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। आइतबार बेलुकी सिरहा नगरपालिका–२१ स्थित लगडीगोठ क्षेत्रमा संयुक्त प्रहरी टोलीले कारबाही गर्दै दुई जनालाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्यूरो, गोलबजार शाखाको संयुक्त टोलीले लागुऔषध कारोबारमा संलग्न समूहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ का २८ वर्षीय रञ्जितकुमार पासवान (छोटु) र सोही स्थानका एक नाबालक रहेका छन्।
प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रतिकार गरेपछि अवस्था नियन्त्रणबाहिर गएको थियो। त्यसपछि प्रहरीले एक राउन्ड हवाई फायर तथा एक राउन्ड गोली प्रहार गरेको जनाएको छ। गोली लागेर पासवानको बायाँ पिँडुलामा चोट लागेको छ।
पक्राउ गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा भएको र त्यस क्रममा इलाका प्रहरी कार्यालय महेशपुर पतारमा कार्यरत प्रहरी जवान हृदयनारायण ठाकुर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घाइते प्रहरीको उपचार भइरहेको छ।
पक्राउ परेका दुवै जनाको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिएका छन्।
प्रहरीले उनीहरूको साथबाट प्लास्टिकसहित ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पासवान लामो समयदेखि संगठित रूपमा लागुऔषध कारोबारमा संलग्न रहेको खुलेको छ। जिल्लाका विभिन्न स्थानबाट पक्राउ परेका लागुऔषध प्रयोगकर्ताहरूले समेत उनीबाटै लागुऔषध खरिद गर्ने गरेको बयान दिएका छन्।
एसपी पाठकका अनुसार पासवानले हालसम्म करिब ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलो ब्राउन सुगर बिक्री गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। साथै, उक्त समूहले नाबालकहरूलाई समेत लागुऔषध कारोबारमा प्रयोग गर्दै आएको आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।







