काठमाडौं । नेपाल प्रहरीले अबदेखि मासिक एकपटक तलब पाउने परम्परागत प्रणाली परिवर्तन गर्दै १५–१५ दिनको अन्तरालमा तलब–भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने भएको छ।
प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ देखि अर्धमासिक (पन्ध्र–पन्ध्र दिन) तलब भुक्तानी प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्राचारका आधारमा नयाँ व्यवस्था लागू गर्न लागिएको हो। नयाँ प्रणाली लागू भएपछि प्रहरी कर्मचारीहरूले प्रत्येक १५ दिनमा आफ्नो तलब तथा भत्ता प्राप्त गर्नेछन्। यसले हाल कायम रहेको मासिक एकपटकको भुक्तानी प्रणालीलाई प्रतिस्थापन गर्नेछ।
परिपत्रमार्फत सम्बन्धित सबै कार्यालयलाई आवश्यक आर्थिक, प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरी नयाँ प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनिएको छ।
त्यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखालाई वित्तीय व्यवस्थापन प्रणाली अद्यावधिक गरी अर्धमासिक भुक्तानी संरचना सहज र व्यवस्थित रूपमा लागू गर्न निर्देशन दिइएको छ।
प्रहरी संगठनभित्र वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा कर्मचारीलाई नियमित अन्तरालमा तलब उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था लागू गर्न लागिएको बताइएको छ।







